शीत लहरबाट जोगिन ठाउँ ठाउँमा आगो ताप्ने व्यवस्था
जनकपुरधाम । विगत केही दिनदेखि शुरु भएको शितलहरका कारणले मधेश प्रदेशका विभिन्न जिल्लाका जनजीवन प्रभावित बनेको छ ।

पश्चिम दिशावाट चलेको शितलहरका कारणले आजदेखि कठ्याङ्ग्रिँदो जाडो शुरु भएको हो । जाडोबाट आम नागरिकलाई जोगाउनका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज बिहानदेखि नगर क्षेत्रमा दाउरा वितरण गरी ठाउँ ठाउँमा आगो बाल्ने काम गरेको छ ।
जनकपुरधामको चोक चोक तथा अन्य सार्वजनिक स्थलहरूमा दाउरा बालेपछि सर्वसाधारणलाई राहत भएको छ । कठ्याँँग्रिदो जाडोका कारणले बालबालिका, ज्येष्ठ नागरिक, असक्त बिरामी, दम, बाथ तथा गेठीया रोगका बिरामीहरूमा थप स्वास्थ्य समस्या उत्पन्न भएको छ ।
बाक्लो कुहिरोसँगै शुरु भएको शितलहरका कारणले बालबालिकाहरूमा रुघा खोकी, नाक जाम हुने, कोल्ड डायरिया जस्ता बिरामीको सङ्ख्या अस्पतालमा बढ्न थालेको छ ।
चिसोबाट जोगिनका लागि बाक्लो तथा न्यानो कपडा लगाउने, अत्यधिक मात्रामा झोलिलो पदार्थ सेवन गर्ने, तातो पानी सेवन गर्ने जस्ता सुझाव चिकित्सकहरूले दिनुभएको छ । चिसोको प्रभाव धनुषा सहित महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरी जिल्लामा पनि परेको छ ।







प्रतिक्रिया राख्नुहोस्