मधेश प्रदेशमा शीतलहर शुरु, जनकपुरधाम विमान सेवा अवरुद्ध
शीतलहरबाट बालबालिका एवं ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएका कारण सजग रहन अभिभावक वर्गलाई चिकित्सकको अनुरोध
जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा पश्चिमी वायुको प्रभावले आज बिहान देखि बाक्लो कुहिरो सहित शीतलहर शुरु भएपछि जनजीवन प्रभावित बनेको छ ।
बाक्लो कुहिरोसँगै चलेको शीतलहरका कारणले आज बिहानबाट नै धनुषाको जनकपुरधाम सहित मधेश प्रदेशका अन्य जिल्लाहरूमा अत्यधिक चिसो बढेर गएको हो । बाक्लो कुहिरोका कारण आज बिहान ७ बजे देखिको हवाई उडान ४ बजेसम्म पनि सुचारु भएको छैन ।

विमान अवतरणका लागि आवश्यक रहेको भिजिबिलिटी नभएका कारणले विमानसेवा सञ्चालन नभएको नेपाल नागरिक उड्डयन कार्यालय जनकपुरधामले जनाएको छ । विमान सेवा सञ्चालन नभएका कारणले नेपाल जेसिजको ५२ औँ राष्ट्रिय महाधिवेशन प्रभावित भएको छ ।
अत्यधिक मात्रामा चिसो बढेपछि चिसोको कारणले बालबालिका तथा ज्येष्ठ नागरिकहरू प्रभावित बनेका छन् । यसका साथै असक्त, बिरामीहरू पिडित बनेका छन् । अत्यधिक चिसोका कारणले विभिन्न व्यक्तिहरूमा रुघाखोकी देखिन थालेको छ ।
बिहानदेखि नै बढेको शितलहरका कारणले खुल्ला आकाशमुनि काम गर्ने मजदूर वर्ग, दैनिक ज्यालादारी गर्ने तथा ठेलागाडा चलाउनेहरू मारमा परेका छन् । शीतलहरबाट बालबालिका एवं ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएका कारण यसप्रति सजग रहन अभिभावक वर्गलाई चिकित्सकले अनुरोध गरेको छ ।

अत्यधिक चिसोबाट गरिब तथा विपन्न वर्गका व्यक्तिहरू बढी मात्रामा प्रभावित बनेका छन् । चिसोसँगै कुहिरो लागेपछि सार्वजनिक सवारी सन्चालनमा समेत प्रभाव पुगेको छ । चिसोका कारणले न्यानो तथा बाक्लो लुगा, उनीका कपडाहरूको बिक्रीमा वृद्धि भएको छ भने चिसोबाट जोगिनका लागि तातो खाने कुरा तथा न्यानो लुगा लगाउनका लागि चिकित्सकले सुझाव दिएका छन् ।
यता, चिसोबाट जोगिनका लागि ठाउँ ठाउँमा आगो बालेर ताप्ने क्रममा समेत वृद्धि भएको छ भने गाउँ घरमा अहिले आगो बालेर ताप्नेहरूको सङ्ख्यामा वृद्धि भएको छ ।








प्रतिक्रिया राख्नुहोस्