तपाईँ सुन्दै हुनुहुन्छः

भोलिदेखि जनकपुरधाममा नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशन हुँदै, सम्पुर्ण तयारी पुरा

जनकपुरधाम । नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशन भोलिदेखि जनकपुरधाममा शुरु हुन लागेको छ ।  

जनकपुरधाम जेसिजको आतिथ्यमा हुन लागेको महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । 

नेपालका ७७ जिल्लाका १ सय ७४ शाखाका करिब ५ हजार युवाहरूको सहभागिता रहने नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष रजनी थापाले आज साँझ जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

अन्तर्राष्ट्रिय जेसिजका उपाध्यक्ष एवं जापानका प्रसिद्ध एवं सफल व्यवसायी सुजुकीको प्रमुख आतिथ्यतामा हुने राष्ट्रिय महाधिवेशनमा १८ वर्षदेखि ४० वर्षका युवाहरूको सहभागिता रहने राष्ट्रिय महाधिवेशनमा विभिन्न समसामयिक विषयहरूमा सेमिनारहरू हुन अध्यक्ष थापाले बताउनुभयो । 

जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीमा आयोजना हुने राष्ट्रिय महाधिवेशनमा नेपालका सफल युवा उद्यमीहरू, वन डढेलो सम्बन्धि विज्ञको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

युवाहरूको महाकुम्भको रुपमा रहेको नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन अगामी पुस ७ गते सन् २०२६ का लागि नयाँ नेतृत्वको चयन गर्दै समापन हुने छ । 

जनकपुर जेसिजका अध्यक्ष मुकेश कुमार साहले नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनको आतिथ्यता हुन लागेकोमा खुशी व्यक्त गर्नुहुँदै महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले देशभरिबाट आउने नेपाल जेसिजका युवाहरूलाई जनकपुरधामवासीले स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्नुहुँदै जनकपुरधाम उद्योग वाणिज्य सङ्घले सहयोग गर्न तयार भएको बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button