तपाईँ सुन्दै हुनुहुन्छः

मङ्सिर महिनामा रौतहटमा २० जनाले गरे आत्महत्या

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले मङ्सिर महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरण अनुसार मङ्सिर महिनामा मात्रै रौतहट प्रहरीले ८८ वटा मुद्दा दर्ता गरेको हो । तीमध्ये २८ वटा मुद्दा फछ्र्यौट भइसकेको छ भने ६० वटा मुद्दा अनुसन्धानकै क्रममा रहेको जनाएको छ । 

सो अवधिमा विभिन्न मुद्दामा संलग्न ४३ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यस्तै मङ्सिर महिनामा २७ जना व्यक्ति हराएका छन् त्यस मध्य ९ जना फेला पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । हराउने व्यक्तिहरूमध्ये १३ महिला, २ बालक र १२ बालिका रहेको छन् । फेला परेकामध्ये ४ महिला, १ बालक र ४ बालिका रहेको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

एक महिनाको अवधिमा घरेलु हिंसासम्बन्धी घटनामा पनि उल्लेख्य देखिएको छ । मङ्सिर महिनामा मात्रै २८ वटा घरेलु हिंसासम्बन्धी निवेदन जिल्ला प्रहरी कार्यालय रौतहटमा दर्ता भएको छ । तीमध्ये २० वटा निवेदन मिलापत्र भएको छ भने ८ वटा उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ । 

रौतहटमा सबैभन्दा गम्भीर विषय आत्महत्याका घटनामा देखिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याङ्क अनुसार मङ्सिर महिनामा मात्रै २० जनाले आत्महत्या गरेका छन् । तीमध्ये १७ जनाले झुण्डिएर र ३ जनाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आत्महत्या गर्नेमा ६ पुरुष, ६ महिला, १ बालक र ७ बालिका रहेका छन् । उमेर समूहअनुसार १८ वर्ष मुनिका ८ जना र १८ देखि ६० वर्ष उमेर समूहका १२ जना रहेका छन् । 

लागूऔषध नियन्त्रणतर्फ प्रहरीले एक महिनाको अवधिमा ४ किलो ७५० ग्राम गाँजा र १९० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । यस्तै डाइजेपाम, नुफिल्म र फेनार्जनसहित ३ वटा एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

मङ्सिर महिनामा मात्रै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएको प्रहरीले जनाएको छ । सोही अवधिमा १ हजार १० वटा सवारी साधन कारबाहीमा परेका छन्, जसबाट १० लाख ५६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button