तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा निर्वाचनको चहलपहल, काँग्रेसले गर्‍यो उम्मेदवारको सिफारिस

ताप्लेजुङ । सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेसँगै ताप्लेजुङमा निर्वाचनको चहलपहल बढ्न थालेको छ । अहिले दलहरूले धमाधम उम्मेदवारको नाम पार्टी केन्द्रिय कार्यालयमा सिफारिस गर्न थालेका छन् ।

नेपाली कांग्रेस ताप्लेजुङले आज (शुक्रबार) प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष उम्मेदवारका लागि जिल्ला पार्टी सभापति गजेन्द्र प्रसाद तुम्याहाङलाई सर्वसम्म रुपमा सिफारिस गरेको छ । प्रत्यक्षतर्फ मात्रै ५ जनाले दाबी पेस गरेका थिए ।

यस्तै, समानुपातिक तर्फ पनि ३ जनाको नाम सिफारिस भएको छ । पूर्व प्रदेश मन्त्री प्रतापप्रकाश हाङगाम, पूर्व जिल्ला पार्टी सभापति केशव प्रसाद दाहाल र महिला तर्फ कल्पना देवी सिटौलाको नाम सिफारिस भएको हो । यता राष्ट्रिय सभा सदस्यका पदका लागि ३ खुल्ला, तिन महिला र तिन दलित सिफारिस गर्नुपर्ने भए पनि खुल्लातर्फ पूर्व मन्त्री मणी लामा, पदम सुन्दर पालुङवा, मातृका शेर्पा, तिल प्रसाद सुब्बा, गीता कुमारी सेन्दाङ र बलबहादुर तामाङको नाम कांग्रेस ताप्लेजुङले सिफारिस गरेको पार्टी प्रवक्ता विश्वराज नाल्बोले जानकारी दिनुभयो ।

यही २०८२ माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनतर्फको उम्मेदवारीका लागि विधानको धारा ३२ को उपधारा ९ (क) बमोजिम तथा प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक सदस्यको निर्वाचनतर्फको विधानको धारा ३२ को उपधारा ८ (क) बमोजिमको प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई केन्द्रीय कार्यालयले पत्राचार गरेको नेपाली काँग्रेसले जनाएको छ ।

यता ताप्लेजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवार सिफारिस गरिसकेको रास्वपा ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button