आइटिएफ जे३० टेनिस टुर मा नेपालकी शिवाली र कोरियाका युललाई दोहोरो उपाधि
पोखरा । नेपालकी शिवाली गुरुङ र कोरियाका युल हो जुङले पोखरामा जारी आइटिएफ जे–३० टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्स र डबल्सतर्फ दोहोरो उपाधि जित्दै ऐतिहासिक जित हात हासिल गर्न सफल भएका छन् । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भइरहेको प्रतियोगिताको गर्ल्स सिंगल्सतर्फ नेपालकी शिवाली गुरुङले ताइपेइकी के–ची सुलाई ६–२, ६–२ को सोझो सेटमा हराउँदै उपाधि हात पार्न सफल हुनुभयो ।

त्यस्तै ब्वाइज सिंगल्स फाइनलमा युल हो जुङले श्रीलङ्काका गानुका फर्नान्डोलाई रोमाञ्चक टाई ब्रेकमा ६–२, ६–७ ले पराजित गर्दै उपाधि जित्नुभयो । डबल्सतर्फ पनि युल र शिवाली दुवै विजेता हुन सफल हुनुभयो । ब्वाइज डबल्समा कोरियाका हियोजिन हा र युल हो जुङको जोडीले भारतका फजल अली मिर र हङकङका सेल्विन युएन वङको जोडीलाई ३–६, ६–३, १०–८ ले हराउँदै उपाधि जित्नुभयो । गर्ल्स डबल्समा शिवाली गुरुङ र के–ची सुको जोडीले भारतकी सौम्या चटर्जी र रञ्जना सग्रामलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनु भएको हो ।
नेपाली जुनियर टेनिस खेलाडी शिवाली गुरुङले सबैभन्दा कम उमेरमा आइटिएफ जे–३० प्रतियोगिता जित्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रच्न सफल हुनुभएको छ । १४ वर्षमा प्रवेश गर्नुभएको शिवालीले पहिलो पटक सिंगल्स र डबल्समा दोहोरो उपाधि जित्दै ३७ अंक समेत प्राप्त गर्न सफल हुनुभयो । अर्को महिना अस्ट्रेलियामा आयोजना हुने ग्राण्डस्लाम अस्ट्रेलियन ओपन इलाइट ट्रफी २०२६ मा सहभागी हुने पहिलो नेपाली खेलाडी समेत हुनुहुने भएको छ ।
पहिलो सर्किट अन्तर्गतका विजेताहरूलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की टेनिस संघका निवर्तमान अध्यक्ष लोक बहादुर गुरुङ, सल्लाहकार द्वय गोपी भट्टराई र सूर्य बहादुर भुजेल, प्रथम उपाध्यक्ष नवीन चालिसे र द्वितीय उपाध्यक्ष नवीन श्रेष्ठ, सचिव भीष्मराज पौडेल लगायतले मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भयो ।
पहिलो सर्किट शनिबार सम्पन्न भएसँगै दोस्रो सर्किटको क्वालिफायर राउन्ड शनिवारबाटै सुरु भइसकेको छ भने मुख्य खेलहरू सोमबारबाट सुरु हुने भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले बताउनुभयो ।
मङ्सिर २७ गतेसम्म दुई साता लगातार सञ्चालन हुने आइटिएफ वर्ल्ड टेनिस टुर जे–३० सर्किट १ र २ मा १६ देशका ८० खेलाडीहरूको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गर्ल्सतर्फ २५ जना खेलाडी सहभागी हुनुभएको हो ।
नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बङ्गलादेश, क्यानडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलङ्का, इजरायल र हङकङका खेलाडीहरूको उपस्थिति रहेको छ ।
१३ देखि १८ वर्ष उमेर समूहका खेलाडीबीच हुने प्रतियोगितामा सिंगल्स विजेताले ३०, उपविजेताले १८, सेमिफाइनलिस्टले ९, क्वार्टरफाइनलिस्टले ५ र प्रि–क्वार्टरफाइनलिस्टले २ अंक प्राप्त गर्नेछन् । त्यसैगरी डबल्सतर्फ विजेताले २५, उपविजेताले १३, सेमिफाइनलिस्टले ६ र क्वार्टरफाइनलिस्टले ३ अंक प्राप्त गर्ने व्यवस्था छ ।







प्रतिक्रिया राख्नुहोस्