रौतहटको चन्द्रनिगापुर–गौर सडकखण्डमा सवारी दुर्घटना, सात घाइते

रौतहट। रौतहटको यमुनामाई गाउँपालिका–४ अन्तर्गत चन्द्रनिगापुर–गौर सडकखण्डमा मङ्गलवार बिहान भएको सवारी दुर्घटनामा परी सात जना घाइते भएका छन् ।दुर्घटनामा स्थानीय विजय साहको होटलसमेत क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको हो ।
प्रहरीका अनुसार बडहर्वातर्फबाट तीव्र गतिमा आउँदै गरेको एचआर–२८–डी–७२२२ नम्बरको स्कार्पियोले चन्द्रनिगापुरबाट गौरतर्फ जाँदै गरेको विआर–०७–पिए–७५८४ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको थियो । त्यस क्रममा सडक किनारमा रोकी राखिएको ना.२ ह–६५२५ नम्बरको अटोमा समेत ठक्कर पुगेको थियो ।
दुर्घटनामा परी घाइते हुनेमा बारा आदर्श कोतवाल–७ निवासी ३० वर्षीय पवन यादव, सर्लाही बरहथवा–१४ निवासी ११ वर्षीय अंकित महतो, गौर–२ निवासी २४ वर्षीय सुरेन्द्र कुमार साह, राजदेवी–८ निवासी ५० वर्षीय शिवजी साह, यमुनामाई–५ निवासी ३९ वर्षीय मङ्गल पटेल, र राजपुर–३ निवासी १० वर्षीय तारिक वस्ताकाे रहेका छन् । प्रहरीका अनुसार सबैको अवस्था मध्यमदेखि सामान्य रहेको छ ।
घटनास्थलमा तत्काल प्रहरी टोली खटिएको थियो र तीनै सवारी नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी बिष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो । घाइतेहरूको उपचार प्रादेशिक अस्पताल गौरमा भइरहेको र उहाँहरूको अवस्था खतरामुक्त रहेको डिएसपी बस्यालले बताउनुभयो ।
प्रहरीका प्रारम्भिक अनुमानअनुसार तीव्र गति र लेन अनुशासन नमान्नु दुर्घटनाको मुख्य कारण रहेको देखिएको छ । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको सडक अहिले सुचारु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्