कञ्चनपुरका तीनै क्षेत्रमा एमाले प्रतिनिधि चयन: दुई क्षेत्रमा मतदान, एकमा सर्वसम्मत टुङ्गो
कञ्चनपुर । कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रबाट नेकपा एमालेले आसन्न एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि टुङ्गो लगाएको छ । क्षेत्र नम्बर १ र ३ मा निर्वाचनमार्फत र क्षेत्र नम्बर २ मा भने सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरिएको हो ।
शनिबार भएको निर्वाचनबाट कञ्चनपुर १ मा खुलातर्फ पल्लवराज भट्ट ४९८ मत र वीरबहादुर थापा ६३९ मतसहित निर्वाचित हुनु भएको छ । महिलातर्फ कमला चौधरीले ५१७ मत र कल्पना गिरीले ५१४ मत प्राप्त गरी निर्वाचित हुनुभयो । युवातर्फ काशीराम बोहरा ५२१ मतसहित महाधिवेशन प्रतिनिधि बन्नु भएको निर्वाचन कमिटीले जनाएको छ ।
कञ्चनपुर २ मा पाँचै जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन हुनु भएको थियो । खुला सदस्यतर्फ रणबहादुर महरा र वचनबहादुर सिंह, महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी तथा युवातर्फ प्रवीण बोगटी निर्विरोध रूपमा चयन हुनु भएको हो ।
कञ्चनपुर ३ मा खुलातर्फ डा। दीपक प्रकाश भट्ट ५६७ मत र जनकराज अवस्थी ३३७ मतसहित निर्वाचित हुनु भएको छ । युवातर्फ ओम बस्नेत ३५१ मतसहित निर्वाचित हुनु भयो । महिलातर्फ चिनी गिरी यसअघि नै सर्वसम्मत रूपमा चयन हुनु भएको थियो ।
जिल्लागत दलित तर्फ आर.पी. सार्की १७२ मतसहित प्रतिनिधिमा निर्वाचित हुनु भएको नेकपा एमाले कञ्चनपुरले जनाएको छ । नेकपा एमालेको आसन्न एघारौँ राष्ट्रिय महाधिवेशनका लागि कञ्चनपुरमा भएको प्रतिनिधि छनौटले महाधिवेशन तयारीलाई थप गति दिएको पार्टीका नेता कार्यकर्ताहरूको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्