तपाईँ सुन्दै हुनुहुन्छः

सबै बेरुजु भ्रष्टाचार होइन : महालेखा परीक्षक राय

धनकुटा  । महालेखा परीक्षक तोयम रायले महालेखा परीक्षण गर्दा देखिएका बेरुजु सबैलाई भ्रष्टाचार भन्न नमिल्ने बताउनुभएको छ । 

महालेखा परीक्षकको कार्यालयले धनकुटामा आयोजना गरेको लेखापरीक्षण बेरुजु फर्स्यौट तथा सम्परीक्षण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा उहाँले बेरुजु सैद्धान्तिक र लागतमा हुने गरेको र महालेखा परीक्षणबाट देखिएका बेरुजु सबैलाई भ्रष्टाचार भन्न नमिल्ने बताउनुभयो  । 

उहाँले देशभरि देखिएको ७ खर्ब १३ अर्ब रुपैयाँ बेरुजु कर्मचारीको कमजोरीका कारणले बढी मात्रामा देखिएको बताउनुभयो । वि.स. २०६० सालबाट संघीय सरकारमा र २०७० सालबाट स्थानीय सरकारका कार्यालयमा बेरुजु बढ्दै गएको भएपनि फर्स्यौटमा चासो नदिँदा समस्या हुने गरेको उहाँको भनाइ छ । 

कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक पदमराज पौडेलले महालेखा परीक्षक ऐन २०७४ मा भएको व्यवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । नायव महालेखा परीक्षक पशुपति कुमार काफ्लेले हाल देखिएका बेरुजुहरूको फर्स्योट प्रक्रियाको कानुनी विधि र धेरै बेरुजु देखिनुका कारणहरूका बारेमा जानकारी गराउनुभएको थियो । 

महालेखा परीक्षक तोयम रायकै अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले महालेखा लेखा परिक्षण गर्न आउँदा हाउगुजी बन्ने गरेको बताउँदै यसले सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्लाका सात वटै स्थानीय तहमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा लेखा अधिकृत, लेखापाल, सह लेखापाल लगायतका कर्मचारीहरू र पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button