तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाका पाँच उत्कृष्ट उद्यमी सम्मानित

पाल्पा । पाल्पामा पाँच जना उत्कृष्ट उद्यमी सम्मानित भएका छन् । एघारौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा जिल्ला भित्र रहेर उत्कृष्ट रोजगारी सृजनासँगै सफल उद्यमीका रुपमा रहेका पाँच जना उद्योगी, ब्यबसायीहरुलाई घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले १५ हजार नगद,दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेको हो ।

कार्यालयले उद्योग तथा व्यवसाय सञ्चालन गरि धेरैलाई रोजगारी दिई सफल भएका उद्यमीहरूलाई लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीको प्रमुख आतिथ्यतामा सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा न्यू राना ढाका उद्योग माथागढीका सञ्चालक फनिसरा गाहा, सरस्वती ढाका उद्योग तानसेनका हरि रायमाझी, देउराली ढाका उद्योग तानसेनका दुर्गा बहादुर सारु,सावित्री फुड प्रोडक्सन माथागढीका सञ्चालक कृष्ण प्रसाद खनाल र चिनारी बहुउद्देश्यीय फर्म तानसेन—१२ का सञ्चालक रुकबीर रेग्मी हुनुहुन्छ । 

कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले मेहनत, जोश, जाँगर र लगाव हुने हो भने सानो लगानीबाट पनि ठूलो सफलता हासिल गर्न सकिने बताउनुभयो । सम्मानितहरूलाई बधाई तथा शुभकामना दिँदै सभामुख घर्तीले अन्य उद्यमीहरूलाई पनि मेहनतका साथ रोजगारी सृजना गर्दै सम्मान योग्य बन्न सुझाव दिनुभयो । उहाँले उद्यमीहरूलाई प्रदेश सरकारले सहयोग गर्ने बचन दिनुभयो । 

सभामुख घर्तीले ग्रामीण भेगमा रहेर पनि त्यहाँका धेरै स्थानीयहरूलाई रोजगारी सँगै आर्थिक उन्नति गरेको देख्दा खुसी लागेको बताउनुभयो । उहाँले उद्योग सञ्चालन निजी क्षेत्रले गर्ने की ? सरकारले गर्ने भन्ने अलमलले देशमा उद्योगहरू फस्टाउन नसकेको जिकिर गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरू चन्दा आतङ्क,विभिन्न आन्दोलनको सिकार हुनु निकै दुखद रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button