उदयपुरमा ७० प्रतिशत युवा पुस्ताले गराए मतदाता नामावलीमा नाम दर्ता
उदयपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ मतदाता नामावली दर्ताको समय भित्र उदयपुर जिल्लामा ७० प्रतिशत युवा पुस्ताले नयाँ मतदाता नामावलीका लागि आवेदन दिएका छन् ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुरमा आठ हजार बढी नयाँ मतदाता थपिने तयारीमा छन् । थपिने नयाँ मतदाताहरूमा ७० प्रतिशत नयाँ पुस्ताले आवेदन दिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।
गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था अनुसार उदयपुर जिल्ला स्थित निर्वाचन कार्यालयमा पुगेर १८ सय १२ पुरुष र १४ सय १५ महिला गरि कुल ३ हजार २ सय २७ जनाले नयाँ मतदाताका लागी आवेदन दिएका हुन ।
त्यस्तै राष्ट्रिय परिचयपत्रद्वारा अनलाइन मार्फत ५ हजार ४ सय ९० जनाले नयाँ मतदाताका लागी नामावली दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी दिपक दाहालले जानकारी दिनुभयो । अहिले अनलाइन मार्फत आवेदन दिने मतदाताको दर्ता अनुमोदन गर्ने कार्य भइरहेको छ । उहाँका अनुसार नयाँ मतदाता नामावली दर्ता गराउनेहरूमा झन्डै ७० प्रतिशत युवा पुस्ता रहेका छन् ।
उदयपुर जिल्लामा दुई निर्वाचन क्षेत्र रहेका छन् । दुई निर्वाचन क्षेत्रमा १०१ मतदान स्थल र २६४ मतदान केन्द्र रहेका छन् । फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुरमा ५ वटा मतदान स्थल थप गर्ने तयारी गरिएको भएपनि दुई ठाउँको पर्याप्त कागज पत्र नपुगेको निर्वाचन अधिकारी दाहालले बताउनुभयो । उहाँका अनुसार कागज पत्र नपुगेका दुई र अन्य तीन गरि ५ वटा मतदान स्थल थप गर्न जिल्ला निर्वाचन कार्यालय उदयपुरले आयोगमा पत्र पठाइएको छ ।
उदयपुरमा गत कार्तिक १६ गतेसम्म १ लाख १३ हजार ६०८ महिला, १ लाख १७ हजार २७७ पुरुष र २ अन्य गरि कुल २ लाख ३० हजार ८ सय ८७ जना मतदाता रहेका विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको थियो । यसमा अहिले नयाँ आवेदन दिने आठ हजार ७ सय १७ जना मध्ये आयोगले अध्यावधिक गरेर अब प्रकाश गर्ने नयाँ नामावलीमा नाम प्रकाशन गर्ने दिन १८ वर्ष पुरा भएकाहरूको मात्र नामावली थप गरेर प्रकाशन गर्ने छ । नयाँ आवेदन दिएका मतदाताको नाम गत कार्तिक १६ गते प्रकाशित नामावलीमा थप हुने छ ।







प्रतिक्रिया राख्नुहोस्