तीन अर्ब बराबरका दुई बचत पत्रको बिक्री खुला
काठमाडौँ । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा बचत पत्रको बिक्री खुला गरेको छ ।
कार्यालयले रु दुई अर्ब ५० करोड बराबरको ‘नागरिक बचत पत्र–२०८७’ र रु ५० करोड बराबरको ‘वैदेशिक रोजगार बचत पत्र–२०८७’ निष्कासन गर्न लागेको हो ।
पाँच वर्ष अवधिका यी दुवै बचत पत्र खरिदका लागि आगामी मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिनेछ भने मङ्सिर २८ गते निष्कासन हुनेछ । नागरिक बचत पत्रमा छ दशमलव पाँच प्रतिशत र वैदेशिक रोजगार बचत पत्रमा सात दशमलव पाँच प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ ।
बचत पत्रको ब्याज हरेक छ÷छ महिनामा सम्बन्धित खरिदकर्ताको बैङ्क खातामा भुक्तानी हुनेछ भने घटीमा रु १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ ।
नागरिक बचत पत्र नेपाली नागरिक र गैर आवासीय नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
त्यस्तै, वैदेशिक रोजगार बचत पत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना पुगेका नेपाली नागरिक, गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा समेत गरिन गर्न सक्नेछन् । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत बचत पत्र खरिदका लागि आवेदन दिन सकिनेछ ।
अघिल्ला वर्षमा नागरिक बचत पत्र शतप्रतिशत बिक्री हुँदा वैदेशिक रोजगार बचत पत्रमा भने लगानीकर्ताको न्यून चासो देखिने गरेको छ । लगानीकर्तालाई बचत पत्रबारे पर्याप्त जानकारी नहुँदा विगतका वर्षमा निष्कासन गरिएको रकमभन्दा कम मात्रै खरिद हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले बताउनुभयो ।
“बचत पत्र के हो ? किन लगानी गर्ने ? कसरी लगानी गर्ने ? जस्ता विषयमा धेरैलाई जानकारी छैन । पछिल्ला वर्षमा खरिद गर्नेहरूको सङ्ख्या बढ्दै गए पनि अझै धेरैले जानकारी पाएका छैनन्”, उहाँले भन्नुभयो ।
नागरिक बचत पत्रका लागि पछिल्लो चार दिनमा मात्र रु ८० करोड बराबरको आवेदन परिसकेको पुडासैनीले जानकारी दिनुभयो । यस वर्ष तोकिएको समय अघि नै खरिद भइसक्ने अनुमान गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउने यी बचत पत्र ‘स्टक’का रूपमा जारी हुनेछन् ।
यस्ता बचत पत्रको ब्याजदर बैङ्कको मुद्दती निक्षेपभन्दा आकर्षक रहेका जनाउँदै पुडासैनीले यसको महत्त्व र फाइदाबारे अधिकांश नागरिकलाई जानकारी नभएको बताउनुभयो । “लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पुँजी बजार र मुद्दती निक्षेपजस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका छन् । लगानीका यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण बचत पत्र हो”, उहाँले भन्नुभयो ।
उपसचिव पुडासैनीका अनुसार बचत पत्र पूर्ण रूपमा सुरक्षित लगानी हो । यसमा सरकारले मूल धनको सुनिश्चित गरेको हुन्छ । साथै, बचत पत्रको ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैङ्क खातामा सिँधै जम्मा हुन्छ । यसलाई धितो राखेर बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने पुडासैनीले उल्लेख गर्नुभयो ।
“दोस्रो बजारमा सहजै कारोबार हुने तथा बचत पत्र धारकले जुनसुकै बेला वा बेच्न चाहेको बेला बैङ्क तथा वित्तीय संस्थाले किन्नुपर्ने बाध्यात्मक व्यवस्था छ । सोही कारण बचत पत्रलाई तत्काल तरलतामा रूपान्तरण गर्न सकिन्छ । अर्थात् आफूले खरिद गरेको बचत पत्र चाहेको समयमा तत्कालै बेच्न सकिन्छ”, उहाँले भन्नुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्