७ वर्षअघि सुरु भएको नगवा पोखरी निर्माण अझै अधुरो

वीरगन्ज । मुख्यमन्त्री सौन्दर्यीकरणको नाममा ७ वर्ष अगाडी भत्काएर अलपत्र पारिएको बीरगंजको चर्चित नगवा पोखरी कुरूप भएको छ ।
वीरगन्ज महानगरपालिका वटा नं १६ मा रहेको नगवा पोखरीको सौन्दर्यीकरणको काम अलपत्र हुँदा छठ पूजा समेत प्रभावित भएको थियो ।
वीरगंजको घडीअर्वा पोखरीभन्दा पनि क्षेत्रफलको हिसाबले ठुलो रहेको नगवा पोखरी तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले ७ वर्ष अगाडी सौन्दर्यीकरण गर्ने भन्दै निर्माण कार्य सुरु गर्नुभएको थियो ।
सौन्दर्यीकरणको नाममा पोखरी भत्काएर कुरूप बनाइएको र निर्माणतर्फ राउत पछिका मुख्यमन्त्रीहरूले उपेक्षा गर्दा नगवा पोखरी प्रदेश सरकारको राजनीति खिचातानीमा परेको वीरगंजबासीहरुले बताउँछन्।
नगवा पोखरीको सौन्दर्यीकरण २०७६ साल वैशाख २३ गते पोखरी निमार्णको सम्झौता भई काम सुरु भएको थियो ।
निर्माणको ७ वर्ष भइसक्दा पनि पोखरी निमार्णको कार्य भने ५० प्रतिशत समेत पुरा भएको छैन । २०७४ साल फागुन ३ गते मुख्यमन्त्री बन्ने बित्तिकै लालबाबु राउतले सबैभन्दा बढी मत पाएको वीरगंज महानगरपालिकाको वडा नं.१६ नगवामा छठ घाटको रूपमा रहेको नगवा पोखरीलाई सौन्दर्यीकरण गर्ने उद्घोष गर्नुभएको थियो ।
उहाँको कार्यकालमा निर्माणका कामहरू अघि बढे पनि अहिले अलपत्र हुनुले स्थानीयमा निराशा छाएको छ । पोखरीको अवस्था लथालिङ्ग भएको कारण छठ पुजा लगायत यहाँ लाग्ने मेलामा समेत कठिनाइ हुने गरेको वीरगंज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष परशुराम चौरसीयाले बताउनुभयो ।
चौरसीयाले ७ वर्षदेखि पोखरीको अवस्था यस्तै रहेको र सरसफाइ मात्र हुने गरेको बताउँदै वीरगन्ज महानगरपालिका वडा नं. १६ मा पर्ने ऐतिहासिक नगवा पोखरी प्रदेश सरकारको कारण लथालिङ्ग अवस्थामा पुगेको आरोप लगाउनुभयो ।

मुख्यमन्त्री कार्यालयको प्रत्यक्ष निगरानीमा सुरु गरिएको यो परियोजनाको ठेक्का १० करोड १ लाख ३० हजार ६ सय ९ रुपैयाँमा एम एस प्रेरा, रन्जन जेबि ललितपुरले सकार गरेको थियो ।
पहिलो पटक नभएर दुई तिन पटक समेत निर्माण कम्पनीको म्याद थप्दा पनि पोखरीको सौन्दर्यीकरण हुन नसकेको र प्रत्येक वर्ष प्रदेश सरकारले न्यून बजेट छुट्याउदा बजेट नै फ्रिज हुँदै आएको चौरसियाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्