तपाईँ सुन्दै हुनुहुन्छः

बिहारको विधान सभा निर्वाचन सम्पन्न भएसँगै मधेसका सिमानाका सुचारु

वीरगञ्ज । भारतको बिहार राज्यमा आज अन्तिम चरणको विधान सभा निर्वाचन सम्पन्न भएसँगै अहिले साँझबाट वीरगंज सहित मधेस प्रदेशका नेपाल भारत सिमानाका सञ्चालनमा आएका छन् । 

निर्वाचनको कारण ७२ घण्टा देखि मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र सप्तरीसँग जोडिएका सीमा नाकाहरू पूर्णरुपमा बन्द भएका थिए । 

नेपालको सबैभन्दा ठुलो व्यापारिक नगरी वीरगञ्ज–रक्सौल नाका ७२ घण्टा देखि बन्द हुँदा  हजारौँ नेपाली र भारतीय यात्रु वीरगंज तथा रक्सौलमा रोकिन बाध्य भएका थिए । 

सिमानाका आज साँझदेखि सञ्चालनमा आएसँगै आवतजावतमा सहज हुनुका साथै सीमा क्षेत्रको जनजीवन समेत सामान्य बनेको छ । 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार, नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बीडीसीसी) को असोज २९ गतेको बैठकको समझदारीअनुसार कार्तिक २२ गते बिहान देखि २५ गते आज साँझ सम्म नाका दुईतर्फी रूपमै शील गरिएको थियो । 

बिहारको पूर्वी चम्पारण जिल्ला अन्तर्गत रक्सौल, अरेराज, सिकटा, मोतिहारी लगायत क्षेत्रमा आज अन्तिम चरणको मतदान सम्पन्न भएको छ । सुरक्षाको दृष्टिकोणले बिहार सरकारले ७२ घण्टा अगावै सीमा सिल गर्न आग्रह गरेको थियो । 

सीमा बन्द भएसँगै दुवै देशका सुरक्षा निकायले संयुक्त रूपमा सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button