बारा, पर्साका निर्वाचन कार्यालयमा सेवाग्राहीको भिड
वीरगञ्ज । मतदाता नामावलीमा नाम समावेश गर्ने समय सीमा सकिनै लाग्दा पर्सा,बाराका जिल्ला निर्वाचन कार्यालयमा सेवाग्राहीको भिड बढेको छ ।

आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गराउने अन्तिम समय कात्तिक मसान्तसम्म रहेको छ । अब ९ दिन मात्र समय बाँकी रहेकाले जिल्ला निर्वाचन कार्यालयहरूमा सेवाग्राहीको भिड लागेको हो ।
जिल्ला निर्वाचन कार्यालय पर्साका सूचना अधिकारी अरुणकुमार ठाकुरका अनुसार असोज १० गतेदेखि कात्तिक २१ गते शुक्रवारसम्म ४ हजार ८ सय १६ जनाले मतदाता नामावली दर्ता गरेका छन् । नेपाली नागरिकता प्राप्त गरेर १६ वर्ष उमेर पूरा भएका नागरिकहरूले नाम दर्ता गर्न सक्ने व्यवस्था छ ।
विदेशमा काम गर्ने, पढाइ वा अन्य कारणले बाहिर रहेका मतदाताहरूले कात्तिक ३० गतेसम्म नाम दर्ता गर्न सक्नेछन् । विगतमा नाम दर्ता भएर मतदाता परिचयपत्र हराएकाहरूले नागरिकता वा अन्य सरकारी परिचयपत्रका आधारमा मतदान गर्न पाउने ठाकुरले बताउनुभयो । यसअघि २०७८ को निर्वाचनमा जग्गाधनी प्रमाण पुर्जालाई समेत आधार मानिएको थियो ।
जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारले आयोगको निर्देशनअनुसार मतदाता नामावली सङ्कलन, नयाँ दल दर्ताको सनाखत र निर्वाचन सामग्री व्यवस्थापनको काम भइरहेको जानकारी दिनुभयो । “फागुन २१ गते निर्वाचन घोषणा भएपछि आयोगका निर्देशनका आधारमा जिल्ला स्तरबाट काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो । कात्तिक ३० गतेसम्म नामावली सङ्कलन, दल सनाखत र सामग्री व्यवस्थापन जारी रहनेछ ।
पर्सामा असार मसान्तसम्म २ लाख १ हजार ७६५ पुरुष, १ लाख ५५ हजार ४५८ महिला र १५ अन्य गरी कुल ३ लाख ५७ हजार २३८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । निधन भएकाहरूको नाम हटाउने काम पनि जारी रहेको कार्यालयले उल्लेख गरेको छ ।
नाम दर्ता बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भइरहेको बताउँदै कार्यालय प्रमुख रौनियारले सार्वजनिक बिदामा समेत सेवा दिने गरिएको दाबी गर्नुभयो ।
यसैबिच जिल्ला निर्वाचन कार्यालय बारामा पनि मतदाता नामावली सङ्कलन र दर्ता भएका नयाँ दलको सनाखत गर्न पछिल्लो समय भिडभाड बढेको छ ।
बारामा असोज १० गते कात्तिक २१ गते शुक्रवारसम्म ४ हजार ९ सय १५ जनाले मतदाता नामावली दर्ता गरेको सूचना अधिकारी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
उहाँले जेनजी आन्दोलनपछि मतदाता नामावली सङ्कलन गर्न युवाहरू उत्साहित देखिएको बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नवीन चौधरीले आयोगको निर्देशन अनुसार मतदाता नामावली सङ्कलन र आयोगमा दल दर्ताको लागि परेका निवेदनहरूको सन्दर्भमा जिल्लाबाट सनाखत गर्ने काम भइरहेको बताउनुभयो ।
बारामा २०८२ असार मसान्तसम्म ४ लाख ४० हजार ५१५ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेका थिए ।







प्रतिक्रिया राख्नुहोस्