एचआइभी सङ्क्रमितलाई आयआर्जनसँग जोड्नुपर्ने सुझाव
अछाम । एचआइभी संक्रमित व्यक्तिहरूलाई आयआर्जनसँग जोड्नुपर्ने एक कार्यक्रममा सहभागी सरोकारवालाले बताएका छन् ।
अछाम जिल्लाका विभिन्न पालिकाहरूमा रहेका एचआइभी संक्रमितहरु अहिले पनि विभिन्न समस्या झेली रहेकाले उनीहरूको समस्याको पहिचान गरि कसरी समाधान गर्न सकिन्छ यस तर्फ सरोकारवाला गम्भीर हुनुपर्ने उनीहरूको भनाई थियो ।
शनिबार मङ्गलसेनमा सम्पन्न भएको सरोकारवाला सँगको समन्वयात्मक बैठकमा सहभागी जिल्लाका सरोकारवालाहरुले विभिन्न संघ संस्थाले उनीहरूको क्षेत्रमा गरिरहेका कामको प्रशंसा गर्दै यतिले मात्रै उनीहरूको जीविका चल्न कठिनाइ देखिएको हुँदा सङ्क्रमितहरूको शारीरिक र मानसिक हिसाबले गर्न सक्ने सीप दिएर आत्म निर्भर बनाउन आवश्यक रहेको बताएका छन् । पहिलेको भन्दा अहिले धेरै कुरामा सहज भएको भन्दै सरोकारवालाहरुले अझै राम्रो कसरी गर्न सकिन्छ यस तर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
जिल्ला समन्वय समिति अछामका सदस्य प्रनाथ विश्वकर्माको अध्यक्षतामा भएको बैठकमा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले स्थानीय सरकारले आफ्नो पालिकामा बसोबास गर्ने एचआइभी सङ्क्रमितहरूलाई आवश्यकता अनुसारको बजेट छुट्टाई परिणाममुखी काम गर्न सुझाव दिनुभएको छ । हालसम्म सङ्क्रमितहरूको क्षेत्रमा भएका कामको प्रशंसा गर्दै प्रमुख जिल्ला अधिकारी सारुले जनताको नजिकको सरकार स्थानीय सरकार नै भएको हुँदा सरकारले यसको जिम्मेवारी बढी लिन आवश्यक रहेको बताउनुभयो । संस्थाहरूले पनि सबैभन्दा बढी स्थानीय सरकार सँग समन्वय गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
बैठकमा सहभागी सङ्क्रमितहरूले अहिलेपनी समुदायमा यो या त्यो बाहानामा सङ्क्रमितहरूमाथि विभेद हुने गरेको गुनासो गरेका थिए । सामाजिक सभासमारोह, सामाजिक कार्य र काम गर्ने ठाउँमा पनि संक्रमितहरु विभेदको सिकार हुने गरेको उनीहरूको गुनासो थियो । कार्यक्रममा मङ्गलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, अछामका प्रहरी प्रमुख ओमप्रकाश खनाल, प्रमुख अनुसन्धान अधिकृत अशोक पौडेल, जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुङ्गाना, स्वास्थ्य शाखाबाट चन्द्र प्रसाद ढुङ्गाना, पत्रकार महासङ्घका उपाध्यक्ष टेक बहादुर थापा लगायतले सुझाव सहितको मन्तव्य राख्नुभएको थियो ।
बैठकको सहजिकरण (एमपीडीएस) कार्यक्रम अधिकृत लक्ष्मी चलाउनेले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन एमपीडिएका जिल्ला संयोजक हरिशचन्द्र रावलले गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्