तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा जोखिममा रहेका १६ बालबालिकाको उद्धार गरि परिवारको जिम्मा

जनकपुरधाम । भारतको विभिन्न राज्यमा जोखिम पूर्ण कार्यमा लगाइएका १६ जना बालबालिकाहरूलाई उद्धार गरेर मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा आज परिवारको जिम्मा लगाइएको छ । 

मधेश प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र विहार पुगेका ती बालबालिकाहरूलाई भारतीय प्रहरीको सहयोगमा किन इन्डिया नामक संस्थाले उद्धार गरेर सबै प्रक्रिया पुरा गरेर मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा बालबालिकाको अभिभावकहरूलाई जिम्मा लगाउने काम भएको हो । 

उद्धार गरिएका बालबालिकाहरूमा मधेश प्रदेशका महोत्तरी, धनुषा, सिरहा, रौतहट तथा सप्तरी जिल्लाका रहेका छन् । उनीहरूको उमेर ९ वर्ष देखि १७ वर्षसम्मको रहेको राष्ट्रिय बालअधिकार परिषद्का मधेश प्रदेश समन्वय अधिकृत संजिव कुमार महतोले जानकारी दिनु भएको छ ।

उद्धार गरिइएका बालकहरूमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नंं ६ का वर्ष १४ का विकास कुमार महतो, वर्ष १७ का कृष्ण सदा, वर्ष १४ का रवि सदा, वर्ष १२ का विकास सदा, वर्ष १२ का विवेक सदा र महोत्तरी सम्सी गाउँपालिका वडा नंं ६ का वर्ष ९ का रवि ठाकुर रहेका छन् । 

अन्य बालकहरूमा धनुषाको शहिदनगर नगरपालिका वडा नंं १ का वर्ष १२ का विवेक सदा, वर्ष १३ का करण सदा, धनुषाधाम नगरपालिका वडा नंं ११ का वर्ष १२ का रोहित सदा, वर्ष १२ का सुरत कुमार सदा, रौतहटका वर्ष १५ का मुगले आजम, सप्तरीका डाक्नेश्वरीका ९ का वर्ष १४ का जीत कुमार पण्डित, सिरहा वर्ष १४ का समीर कुमार भुजेल र वर्ष १२ का सौगात बयलकोटी रहेका छन् । 

यसै गरि जवजस्ती यौन कार्यमा संलग्न  सप्तरी जिल्ला घर भएकी वर्ष १५ र १६ वर्षकी दुई जना बालिकालाई किन इन्डियाले भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर संस्थाका अध्यक्ष नवीन जोशीले बालकल्याण समिति तथा बालबालिका खोज उद्धार केन्द्र जनकपुरधाम मार्फत अभिभावकको जिम्मा लगाउने काम भएको हो । 

सो अवसरमा बोल्दै किन इन्डियाका अध्यक्ष जोशीले मधेश प्रदेशबाट ठूलो सङ्ख्यामा बालबालिकाहरूलाई भारतमा लगेर स्क्रिनको व्यापारमा लगाउने, किडनी झिक्ने, यौन धन्दामा लगाउने गरेकाले प्रदेशमा सचेतना फैलाउन जरुरी रहेको बताउनु भयो । 

ती बालबालिकाहरूलाई रोटरी क्लब लुम्बिनीको सहयोगमा जनकपुरधाम ल्याएर परिवारको जिम्मा लगाएर पुनर्मिलन गराउने काम भएको छ । कार्यक्रममा बोल्दै मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादवले उद्धार भएर आएका बालबालिकाको शिक्षा तथा सिपमूलक तालिममा संलग्न गराएर रोजगारी प्रदानका लागि प्रयास गर्ने बताउनु भयो । 

उहाँले मधेश प्रदेश सरकारले यस्तै बालबालिकाका लागि दीर्घकालीन पुनर्स्थापना केन्द्र एक वटा तथा प्रत्येक जिल्लामा सेफ हाउसको निर्माण प्रक्रिया अगाडी बढाएको बताउनु भयो । सो अवसरमा नेपाल सरकारका पूर्व सचिव प्रेम उपाध्याय, समाजसेवी निर्मल कुमार चौधरी र धनुषाका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बम, रोटरी क्लब लुम्बिनीका पदाधिकारीहरू तथा सञ्चारकर्मीहरूको सहभागिता रहेका थिए ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button