तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रपुरको टेकान बसपार्क अलपत्र

    'सडकमा पार्किङले ट्राफिक व्यवस्था अस्तव्यस्त'

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ टेकानटोलस्थित नव–निर्मित बसपार्क सञ्चालनमा नआएपछि पूर्व–पश्चिम राजमार्ग र गौर–चन्द्रनिगाहपुर सडक खण्डमा सवारीसाधन जथाभाबी पार्किङ हुन थालिएपछि दुर्घटनाको जोखिम बढेको छ । 

२०८१ साल फागुनमै उद्घाटन सम्पन्न भएको टेकान बसपार्क अहिले पनि सुनसान देखिन्छ । स्तरोन्नतिपछि नगरपालिकालाई हस्तान्तरण भएको आठ महिना बितिसक्दा पनि सो बसपार्क  अलपत्र अवस्थामा पुगेको छ । बसपार्क प्रयोगमा नआएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरू चन्द्रनिगाहपुरको पूर्व–पश्चिम राजमार्ग र गौर–चन्द्रनिगाहपुर सडक खण्डको दायाँबायाँ पार्किङ हुने गरेको हो । 

सडकको दुवैतर्फ सवारी पार्किङ हुँदा सडक साँघुरो भई दुर्घटनाको सम्भावना बढ्नुका साथै पैदल यात्री र स्थानीय व्यापारीहरू पनि असहज हुने गरेको छ । 

चन्द्रनिगाहपुरका स्थानीय व्यापारी राजेन्द्र तिवारीले बसपार्क तयार भएर पनि सञ्चालनमा नआउँदा चोकमै सवारी रोकिँदा बजार क्षेत्र साँघुरो र जोखिमपूर्ण बनेको बताउनुभयो । 

२०६९ सालमा धूमधामसहित निर्माण गरिएको उक्त बसपार्क झन्डै १० वर्षदेखि प्रयोगविहीन रहँदै आयो । पछिल्लो समयमा सघन सहरी तथा भवन निर्माण आयोजना, वीरगञ्जले करिब चार करोड रुपैयाँको लागतमा विनायक–प्रजिल जेभी सुकुलढोका भक्तपुरलाई ठेक्का दिएर सो बसपार्कको स्तरोन्नति गरेको थियो । स्तरोन्नतिपछि २०८१ फागुन १५ गते निर्माण कम्पनीले चन्द्रपुर नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । 

बसपार्कमा यात्रुको सुविधाका लागि आधुनिक शौचालय, सिटिङ बेन्च, पार्किङ लाइन, टिकट काउन्टर, तथा विद्युतीय सवारी चार्जिङ स्टेसनसमेत जडान गरिएको छ । तर सञ्चालन नहुँदा सम्पूर्ण संरचना प्रयोगविहीन रहँदै जीर्ण बन्न थालेको छ । 

बसपार्क प्रयोगमा नआएपछि पूर्व पश्चिम महेन्द्र राजमार्ग र गौर–चन्द्रनिगाहपुर रुटका बस, टाटासोमु, म्याजिक, र ई–रिक्सा चालकहरूले समेत राजमार्गको किनारमै यात्रु चढाउने र ओराल्ने कार्य हुँदै आएको छ । यसले ट्राफिक व्यवस्थापनमा कठिनाइ थपेको छ । स्थानीय,इलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पटक–पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदै आए पनि समस्या यथावत् रहेको बताइएको छ ।

चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले “बसपार्क सञ्चालनका लागि नागरिक समाज, बस तथा साना सवारी व्यवसायी संघलगायत सरोकारवालासँग छलफल प्रक्रिया अघि बढाइएको बताउनुभयो । चाँडै सञ्चालनको जिम्मा निजी क्षेत्रलाई ठेक्का मार्फत दिइने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । स्थानीयवासीको अनुसार, बसपार्क सञ्चालनमा आए सडक क्षेत्र फराकिलो हुने, बजार क्षेत्रमा भीड कम हुने र दुर्घटनाको जोखिम घट्ने विश्वास गरिएको छ । तर तत्काल कदम नचालिए चन्द्रनिगाहपुर चोक अझ भिडभाडयुक्त र जोखिमपूर्ण बन्ने चिन्ता बढ्दै गएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button