तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ५ लाख मूल्य बराबरको पटाका बरामद

झापा । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै झापामा दिनहुँ प्रतिबन्धित पटाका बरामद हुन थालेको छ । यसैक्रममा प्रहरीले करिब ५ लाख मूल्य बराबरको पटाका नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो साँझ अर्जुनधारा–८ शनिश्चरे बजार बस्ने रमेश खनालले सञ्चालन गरेको कोल्ड सेन्टरको पश्चिमपट्टिको गोदाममा अन्दाजी ३ लाख मूल्यको पटाका बरामद भएको थियो । कार्टुन तथा बोराहरूमा पोका बनाई अवैध रुपमा राखिएका विभिन्न प्रकारका पटाका इलाका प्रहरी कार्यालय अनारमणिबाट गएको प्रहरी टोलीले बरामद गरेको थियो ।

त्यस्तै हिजो साँझ ७ः३० बजे बिर्तामोड–४ स्थित बस्नेत फ्रेस हाउस छेउमा बेवारिसे अवस्थामा करिब डेढ लाख मूल्य बराबरको पटाका बरामद भएको थियो भने शिवसताक्षी–८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले सुरुङ्गाबाट दमकतर्फ जाँदै गरेको मे १ ह ३१२० नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा उक्त अटोमा अवैध रूपमा लुकाई छुपाई लाँदै गरेको अन्दाजी ३५ हजार मूल्य बराबरको पटाका नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको प्रहरीले जनाएको छ ।

यसअघि झापाका विभिन्न स्थानबाट १० लाख रुपैयाँभन्दा बढीको पटाका बरामद भइसकेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button