‘जेन्जीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो’
धादिङ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेन्डामै अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । धादिङको थाक्रे गाउँपालिकाको महादेव बेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताउनुभयो ।

संयोजक प्रचण्डले देश सङ्कटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै सङ्कटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको बताउनुभयो। ‘हाम्रो पार्टी नै जेन्जी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो’, उहाँले भन्नुभयो, ‘जेन्जी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ।’
सरकारमा बस्दा जेन्जीहरूलाई दमन गर्ने र जेन्जीमा माग र एजेन्डालाई समर्थन गर्दै आइरहेको पार्टी एउटै नभएको बताउँदै उहाँले थप्नुभयो ‘सरकारमा बसेर जेन्जीहरुलाई दमन गर्ने र सडकमा जेन्जीका मागलाई सम्बोधन गर्नुपर्छ भन्ने पार्टी सबै एउटै हुन भनेर एकथरि मानिसहरूले प्रचार गर्ने गरेका छन् । हामी उनीहरू जस्तै होइनौँ । माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेन्जीहरुको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो ।’
निर्वाचन नहुने हो कि नहुने भन्ने आशङ्का होइन निर्वाचन गराउने गरी भूमिका खेल्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘निर्वाचन हुँदैन कि भनेर द्विविधामा बस्नु हुँदैन। निर्वाचन घोषणा गरिसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ।’
पाँच वटा पार्टीसँग चाँडै एकता प्रक्रिया अघि बढ्ने सङ्केत पनि दिँदै प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकबाट जेन्जीका माग अनुसार नै नेतृत्व तहमा युवाहरूलाई ल्याउने नीतिगत निर्णय भइसकेको उल्लेख गर्नुभयो । पार्टीलाई समयअनुसार पुनर्संरचना गर्दै लैजाने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो ।
जेन्जीका माग र माओवादी केन्द्रले संविधान निर्माणको समयदेखि उठाएका एजेन्डा एउटै भएको बताउँदै देश अहिले माओवादी केन्द्रले अगाडि सारेका एजेन्डाहरूअनुसार अघि बढेको उहाँले बताउनुभयो । साथै अबको नेतृत्व पनि माओवादी केन्द्रले लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्