बारामा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु, ६ जना घाइते
वीरगञ्ज। बाराको सिम्रौनगढमा आज बिहान माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ पानीटंकी नजिक माटो खन्ने क्रममा ढिस्को खस्दा त्यसमा पुरिएर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिम्रौनगढ वडा नम्बर ६ सानो इँटवालकी ७० वर्षीया शारदादेवी महतो र १५ वर्षीय सुनिल महतो रहेका छन् । उनीहरूको उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

घटनामा अन्य ६ जना घाइते छन् । घाइते हुनेमा सिम्रौनगढ– ६ कै १४ वर्षीय साजन महतो, १५ वर्षीय नितेश महतो, १८ वर्षीय गौतम मुखिया, १४ वर्षीय रानीकुमारी महतो, १४ वर्षीय सुशिला कुमारी महतो र १५ वर्षीय राजाबाबु शर्मा रहेका छन् ।
घाइतेहरूको सिम्रौनगढ र कलैयास्थित अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
घर लिपपोतका लागि माटो खन्ने क्रममा ढिस्को खसेको हो । घाइतेहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्