तपाईँ सुन्दै हुनुहुन्छः

‘जेरी अन टप’ ट्रेलर, दर्शकबाट उत्कृष्ट प्रशंसा

काठमाडौँ । यही असोज ३१ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच निर्माण कम्पनी अनन्या फिल्मस्’ले फिल्मको ट्रेलर युट्युबमार्फत वर्ल्ड प्रिमियर गरिएकाे हो ।

बुढासुब्बा डिजिटलबाट सार्वजनिक ट्रेलरबाट फिल्मको कथाबस्तु खुलाउने प्रयास गरिएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकार स्टार अभिनेता अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गी फिचर्ड छन् । 

ट्राभल लभस्टोरीको पृष्ठभूमिमा फिल्म तयार भएको हो । ३ मिनेट ४० सेकेन्ड लामो ट्रेलरमा सगरमाथा आरोहण, पारिवारिक कथा, प्रेम, रोमान्स र संवेदना जोडिएको छ । उत्कृष्ट भिजुअल चित्रण देखिएको ट्रेलरमा हिमाली भेगको पर्यावरण झल्किने लोभलाग्दा दृश्य समावेश छन् । सिनेमाटोग्राफर दुलिप रेग्मीले प्रशंसनीय दृश्यकैद गरेका छन् ।

यसैबीच रिलिजको केही घण्टामै ‘जेरी अन टप’ ट्रेलरले युट्युब ट्रेन्डिङ सुरक्षित गरेको छ । समाचार तयार पार्दासम्म यो फिल्मको ट्रेलर मुभी चार्ड ट्रेन्डिङतर्फ पाँचौँ नम्बरमा आइसकेको छ । सामाजिक सञ्जालमा भाइरल जस्तै बनेको ट्रेलरले फिल्मप्रेमी तथा शुभचिन्तकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

सुयोग गुरुङको निर्देशनमा तयार भएको ‘जेरी अन टप’ सरोज न्यौपानेको प्रस्तुतिमा तयार भएको हो । फिल्म निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र भविष्य खड्काले साझेदारी गरेका छन् । फिल्मको कथा हेमराज बिसीको हो ।

यो फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् । यसअघि सार्वजनिक गीत र टिजरले समेत फिल्मप्रति सकारात्मक प्रतिक्रिया बटुल्दै दर्शकबाट ‘अवेटेड’ शब्दहरू प्राप्त  गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button