बीमा दाबीको भुक्तानी दिँदै निर्जीवन बीमा कम्पनीहरू
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले देशमा हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कूल बीमा दाबी रकम रु.२३ अर्ब २२ करोड ८७ लाख पुगेको जनाएको छ ।
विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा कूल ३ हजार ९९ वटा परेको बीमा दाबीबाट रु.२३ अर्ब २२ करोड ८७ लाख दाबी रकम रहेको तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
निर्जीवन बीमा कम्पनीहरूले कूल दाबी रकम मध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब रु. १ अर्ब ५८ करोड ५६ लाख सीमितहरूलाई भुक्तानी गरिसकेका छन् ।
आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७१० वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेस गरेको जानकारी निर्जीवन बीमकहरूबाट प्राप्त भएको पनि प्राधिकरणले जनाएको छ । कूल बीमा दाबीमध्ये सम्पत्ति बीमातर्फ ६५३ वटा दाबी परेको र दाबी रकम करिब रु. १९ अर्ब ६ करोड ७६ लाख रहेको छ ।
यस्तै, सम्पत्ति बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी बीमकहरूले रु. १ अर्ब ३२ करोड ७२ लाख दाबी भुक्तानी गरिसकेका छन् । सम्पत्ति बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि ५९८ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट हालसम्ममा ५२ वटा सर्भे रिर्पोट प्राप्त भएको निर्जीवन बीमकहरूले जानकारी दिएको प्राधिकरणले विज्ञप्ति मार्फत जनाएको छ ।
यसैगरी, मोटर बीमामा २ हजार २०६ वटा दाबी परेको र दाबी रकम करिब रु. ३ अर्ब ४१ करोड ६ लाख रहेको छ । बीमकहरूबाट मोटर बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी रु.२४ करोड ९१ लाख दाबी भुक्तानी भएको छ । आन्दोलनका क्रममा मोटरहरूमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १ हजार ९३९ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३१४ को सङ्ख्यामा सर्भे प्रतिवेदन बुझाएको जानकारी बीमकहरूले दिएको जनाइएको छ ।
यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९० वटा दाबी परेको र दाबी रकम रु.३८ करोड ३ लाख रहेको छ । बीमकहरूले इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी रु.८७ लाख दाबी भुक्तानी गरेका छन् ।
आन्दोलनका क्रममा इञ्जिनीयरिङ तथा ठेक्कामा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १२६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइसकिएको र सर्भेयरहरूबाट हालसम्ममा ५ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी बीमकहरूले दिएको जनाइएको छ ।
यसैगरी, परिवहन बीमातर्फ बीमा दाबी १२ वटा र दाबी रकम करिब रु. १ करोड ६३ लाख रहेको छ । परिवहनमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि बीमकहरूले ११ वटा दाबीका लागि बीमा सर्भेयर खटाएका छन् । अन्य बीमातर्फ बीमा दाबी ३८ वटा परी दाबी रकम करिब रु. ३५ करोड ३७ लाख रहेकोमा हालसम्ममा करिब रु. ५ लाख ५० हजार दाबी भुक्तानी भएको जानकारी प्राप्त भएको छ ।
त्यस्तै, अन्य बीमातर्फको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि ३६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट ३ वटा सर्भे प्रतिवेदन प्राप्त भएका छन् ।
नेपाल बीमा प्राधिकरणले सीमितहरूको हित संरक्षणलाई प्रमुख प्राथमिकतामा राखी बीमा दाबी प्रक्रियालाई छरितो, पारदर्शी र प्रभावकारी बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिँदै आएको छ । बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन र समयमै सम्पन्न गर्नका लागि सर्भे प्रतिवेदन प्रस्तुत गर्ने समय सीमा, दाबी छानबिनको पारदर्शिता र सीमितको सहज पहुँचलाई विशेष प्राथमिकतामा राखिएको छ ।
साथै, प्राधिकरणले बीमकहरूबाट भइरहेको दाबी भुक्तानी प्रक्रियाको निरन्तर अनुगमन समेत गरिरहेको प्राधिकरणले जनाएको छ ।
सीमितहरूको अधिकार सुनिश्चित गर्नका लागि दाबी भुक्तानी सम्बन्धी कार्यमा थप सुधार ल्याउँदै तीव्रता दिन समेत प्राधिकरणले बीमा कम्पनीहरूलाई निर्देशन दिएको जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्