तपाईँ सुन्दै हुनुहुन्छः

त्रिपालमै बित्यो बाजुराका बाढीपीडितको दशैं

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्याँका बाढीपीडितले यो वर्षको दशैं समेत त्रिपालमुनि नै बिताएका छन् । साउन २८ गते आएको विनाशकारी बाढी र पहिरो गएको झन्डै दुई महिना बितिसक्दा पनि पीडितहरू अझै अस्थायी टहरामै बस्न बाध्य छन् ।

बाढीले बिच्छ्याँ र वडा नम्बर ५ कवाडीका अधिकांश बासिन्दालाई घरबारविहीन बनाएको थियो। वडा नम्बर १ बिच्छ्याँका ८ परिवार र कवाडीका आधा दर्जनभन्दा बढी परिवार अहिले पनि पालमुनि रात बिताइरहेका छन् ।

पीडित आइसिंह बोहराले बाढीले आफ्नो घर र जग्गा दुवै बगाएपछि पानी पर्ने बेला रातभर जाग्राम बस्नुपर्ने बाध्यता सुनाउनुभयो। “बाढी गएको दुई महिना बितिसक्यो, अझै पनि पालैभित्रै छौँ, दशैं पनि यहीँ बित्यो,” उहाँको पीडा छ ।

गाउँपालिका र वडा कार्यालयले केही राहत सामग्री उपलब्ध गराए पनि पर्याप्त सहयोग नपाउँदा दैनिकी झनै कठिन बनेको पीडितहरूको गुनासो छ। वडा अध्यक्ष जोख भण्डारीका अनुसार हालसम्म राहत र पुनर्स्थापनाका काम पूरा हुन नसक्दा पीडितहरू टहरामै बस्न बाध्य छन् ।

एक्कासी आएको बाढीले बिच्छ्याँका ८ र कवाडीका १६ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एक सयभन्दा बढी घर तथा सरकारी संरचनामा समेत क्षति पुर्याएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button