तपाईँ सुन्दै हुनुहुन्छः

मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने प्रतिबद्धता जनाउनुभएको छ । अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरूसँग आज भएको बैठकमा उहाँले खर्च कटौतीमार्फत जेनजी प्रदर्शनका क्रममा जलाइएका भौतिक संरचनाको पुनःनिर्माण गरिने बताउनुभयो । 

बैठकमा मन्त्री खनालले विकास साझेदारले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पुर्‍याउँदै आएकामा धन्यवाद दिनुभयो । “नेपालमा हालै गठित अन्तरिम सरकारद्वारा युवाहरूको चाहना अनुरूप पारदर्शी, जबाफदेही, भ्रष्टाचारमुक्त समाज र विधिको शासन स्थापना गरिने छ,” उहाँले भन्नुभयो, “आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको छ । अनुपयुक्त खर्च कटौती र मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने र आर्थिक सुधारका कार्यक्रमलाई तीव्रता दिइने छ ।”

कार्यक्रममा विकास साझेदारका तर्फबाट संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक, यूएनएचसिआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूतहरू, भारत र नर्वेका प्रतिनिधि, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रमका प्रतिनिधि लगायतले आफ्नो भनाइ राख्दै नेपालको वर्तमान अवस्थाप्रति जानकार रहेको र सरकारको नीति तथा कार्यक्रममा सहमति जनाउनुभएको थियो ।

विकास साझेदारले चालू अवस्थाका आयोजनाहरूलाई निरन्तरता दिने र थप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन् ।  मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले बैठकमा राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्बन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा छलफल भएको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button