मधेस विश्वविद्यालयको चौथो विश्वविद्यालयसभा सम्पन्न,गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाको सामूहिक प्रयास आवश्यक: मुख्यमन्त्री सिंह
वीरगञ्ज। वीरगन्जमा स्थापित मधेस विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतीशकुमार सिंहको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाको सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षाका लागि विदेशिने ठूलो रकमलाई देशमै गुणस्तरीय शिक्षा उपलब्ध गराएर रोक्नुपर्नेमा जोड दिनुभयो ।

रोजगारीका लागि विदेशिने युवाहरूको उच्च सङ्ख्यालाई उल्लेख गर्दै मुख्यमन्त्री सिंहले विदेशमा लोकप्रिय रहेका विश्वविद्यालयहरूसँग सहकार्य गरी सीपमूलक शिक्षा प्रदान गरेर युवाहरूलाई दक्ष बनाउनु विश्वविद्यालयको प्राथमिकता हुनुपर्ने बताउनुभयो ।

“आत्मनिर्भर बन्न दक्षता अनिवार्य भएकाले गुणस्तरीय र सीपमूलक शिक्षामा विश्वविद्यालयले विशेष ध्यान दिनुपर्छ,” मुख्यमन्त्री सिंहले भन्नुभयो । सो अवसरमा विश्वविद्यालयका संस्थापक कुलपति एवं पूर्वमुख्यमन्त्री लालबाबू राउतले मधेस विश्वविद्यालय, कृषि विश्वविद्यालय र मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेशकै गौरवका संस्था भएको बताउनुभयो ।

बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपकबहादुर शाक्यले आगामी नीतिगत कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने रजिस्ट्रार विजयकुमार यादवले आर्थिक वर्ष २०८२/८३ का लागि २२ करोड ११ लाख ३६८ रुपैयाँ १८ पैसा बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्