तपाईँ सुन्दै हुनुहुन्छः

‘जेनजी’ आन्दोलनले ऐतिहासिक महत्त्वका तीन दरबारमा पूर्ण क्षति

काठमाडौँ । यही भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा ऐतिहासिक महत्त्वका तीन दरबार आगलागीले पूर्ण क्षति भएको छ । 

एक सय वर्षभन्दा पुराना तीन दरबार शीतल निवास, सिंहदरबार र बबरमहल (सडक विभाग बसेको भवन) प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार सम्पदास्थल भए पनि आन्दोलनका क्रममा जलेको छन् । 

पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले केही अभियानकर्मीले पुरातत्त्व विभागअघि सम्पदा क्षेत्रमा केही नगरौँ भनी बसेकाले जोगिए पनि यी तीन सम्पदा क्षतिग्रस्त भए । यीबाहेक धार्मिक एवं सांस्कृतिक सम्पदामा भने कुनै क्षति नभएको उहाँले सुनाउनुभयो । 

आन्दोलनकारीले पशुपति क्षेत्र विकास कोषको भौतिक सम्पत्तिमा भने धेरै क्षति गरेका छन् । कोषका १७ वटा दुई पाङ्ग्रे र २१ वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति भएको विवरण प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

पुरातत्त्व विभागका दुई वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति भएको छ । यसैगरी मन्त्रालयका दुई पाङ्ग्रे दुई र चार पाङ्ग्रे तीन वटा सवारीसाधनमा पूर्ण तथा दुई वटा दुई पाङ्ग्रे र सात वटा चार पाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति भएको उपाध्यायले बताउनुभयो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको १६ वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति पुगेको छ । यसैगरी तीन वटा चार पाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति पुगेको मन्त्रालयले तयार पारेको क्षति विवरणमा उल्लेख छ । 

यस्तै, नेपाल वायुसेवा निगमको एउटा दुई पाङ्ग्रे र छ वटा चार पाङ्ग्रेमा पूर्ण र १६ वटा चार पाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति पुगेको छ । राष्ट्रिय अभिलेखालयको एउटा चार पाङ्ग्रे सवारीमा आंशिक क्षति भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button