तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा महानगरपालिकाको सेवा असोज १ गतेदेखि सुचारु गरिने, क्षतिको लगत सङ्कलन हुँदै

पोखरा । जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेका संरचनाको एकीन विवरण सङ्कलन गर्दै पोखरा महानगरपालिकाले आउँदो असोज १ गतेदेखि सेवा प्रवाह पुनः सुचारु गर्ने भएको छ । महानगरपालिकाको ५२ औँ कार्यपालिका बैठक शनिबार भर्चुअल माध्यमबाट बसेर उक्त निर्णय गरेको हो ।

जेनजी आन्दोलनले कार्यालय जलेर ध्वस्त भएपछि सेवामा अवरोध भएको छ भने अब असोज १ गतेदेखि उपयुक्त स्थान पहिचान गरी पुनः सेवा सञ्चालन गर्ने निर्णय भएको महानगरका प्रवक्ता तथा वडा नं. २५ का अध्यक्ष मोति तिमिल्सिनाले भन्नुभयो । असोज १ गते भित्र महानगरका प्रशासनिक भवन, महाशाखा तथा वडा कार्यालयहरूमा भएको क्षति, कागजात र दस्ताबेजहरूको अवस्था र बाँकी संरचनाको विवरण सङ्कलन गरिने उहाँले जनाउनु भयो ।

बैठकले जेनजी आन्दोलनको क्रममा भदौ २४ गतेदेखि सुरु भएको तोडफोड र आगजनी घटनाबाट महानगर कार्यालयसहित धेरै वडाहरूमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै दोषीहरूलाई कारबाही गर्न मागसमेत गरेको छ ।

यसअघि महानगरको कार्यालय सञ्चालनका लागि पोखरा नयाँ बजारमा हाल निर्माण सम्पन्न भएको वाणिज्य बैङ्कको भवन प्रयोग गर्न सकिने विषयमा समेत छलफल भएको थियो । यस विषयमा सम्बन्धित निकायसँग छलफल अघि बढाइने भएको प्रवक्ता तिम्सिनाले जनाउनु भयो । महानगरपालिकाले विद्यालयहरू समेत असोज १ गतेदेखि नियमित सञ्चालनमा ल्याउन निर्देशन दिँदै अबका सबै सेवा असोज १ गतेदेखि सुचारु गर्न सबैलाई आह्वान गरेको छ ।

यसैबिच, भदौ २४ गतेको आन्दोलनका क्रममा मेयर आचार्यको नीजि निवास र उहाँको परिवारको स्वामित्वमा रहेको पोखरा इभेन्ट सेन्टर समेत आगजनी भएको छ । “मेरो जीवन पोखरेलीहरू सामु सधैँ खुला किताबझैँ छ, केही स्वार्थीहरूले आफ्ना गलत काम नगरिदिएको कारण निहित स्वार्थका आधारमा म र मेरो परिवारलाई बदनाम गर्न खोजिएको छ,” मेयर आचार्यले भन्नुभयो । मेयर आचार्यले सामाजिक सञ्जाल फेसबुक मार्फत सत्यलाई कहिल्यै दबाउन नसकिने, सत्य सधैँ सत्यकै रूपमा रहन्छ रहने उल्लेख गर्दै दोषीमाथि कडा कारबाहीको माग गर्नु भएको छ । आफ्नो तीन वर्षको नेतृत्वकालमा कुनै अनैतिक कार्य नगरेको उहाँको दाबी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button