तपाईँ सुन्दै हुनुहुन्छः

फापर खेतीमा कृषकको आकर्षण बढ्दो

मुगु । यहाँका गाउँघरमा फापर खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । तरकारी र नगदे बालीले केही वर्ष ओझेलमा पारेको फापर खेतीमा हाल पुनः कृषकहरू आकर्षित भएका हुन् ।  

विशेषगरी यहाँका मुर्मा, पिना, रारा र आसपासका बस्तीहरूमा किसानहरूले फापर खेती गर्न थालेका छन् । स्वास्थ्यका दृष्टिले लाभदायी मात्र नभई राम्रो मूल्य पाइने भएकाले किसान यसतर्फ आकर्षित भएका हुन् ।

स्थानीय शिक्षक नन्दसिंह रोकायाका अनुसार फापर खेती पहिले जस्तै लोकप्रिय हुन थालेको छ । उहाँले भन्नुभयो, “हाम्रो पुरानो र मुख्य खेती नै फापर हो । अहिले बजारमा चामल र गहुँले ठाउँ लिए पनि फापर खेती फाइदाजनक भएकाले यसप्रति आकर्षण बढ्दै गएको छ ।”

वडा नं ९ मुर्मा गाउँकै अर्का कृषक झुपुकला रोकायाले फापरखेतीले आम्दानी दिने सम्भावना बढेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिले फापरलाई गरिबको अन्न भनेर हेपिन्थ्यो । तर अहिले यसको पीठो र परिकार बजारमा महँगोमा बिक्री हुने गर्छ । यसले हामीलाई आत्मनिर्भरतासँगै आयस्रोत वृद्धि गरेको छ ।”

मुगु–रारा पर्यटकीय क्षेत्रमा आउने पर्यटकले स्थानीय उत्पादन खोजी गर्ने भएकाले फापरको माग दिनानुदिन बढ्दो छ । होटल व्यवसायीहरूका अनुसार, पर्यटकले विशेषगरी फापरका ढिँडो, रोटी, लड्डु, तथा विविध परिकार माग गर्छन् । यसले किसानलाई उत्पादन बढाउन थप हौसला मिलेको छ ।

फापरमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, आइरनलगायतका पौष्टिक तत्त्व हुने बताइन्छ । उच्च रक्तचाप, मधुमेह, मुटु रोगीका लागि फापर उपयुक्त मानिने भएकाले स्थानीय उत्पादनले बाहिरी बजारमा प्रतिस्पर्धा गर्न सक्ने किसानहरू बताउँछन् ।

जिल्लाको चिस्यानयुक्त भेगमा सहजै फल्ने यो बालीमा उत्पादन खर्च पनि कम हुने गर्छ । स्थानीय सरकार र कृषि कार्यालयले समेत फापरलाई परम्परागत बाली संरक्षणसँगै आयआर्जनको विकल्पका रूपमा प्रवर्द्धन गर्ने योजना बनाएका छन्।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button