बाह्रबिसे नगरपालिकाद्वारा नगरबासीलाई सहुलीयतमा कृषि सामग्री प्रदान
मेलम्ची । बाह्रबिसे नगरपालिकाले नगरबासीहरुलाई सहुलीयत रुपमा मल, बिउ, विजनलगायत आवश्यक कृषि सामग्री प्रदान गर्न सुरु गरेको छ ।
बजारमा मललगायतका अन्य कृषि सामग्रीको अभाव भएपछि नगरपालिकाले कृषकहरुका लागि सहुलीयत मुल्यमा कृषि सामग्री प्रदान गर्न लागेको हो ।
कोरोना भाइरसको सक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि कृषकहरु मललगायत अन्य कृषि सामग्रीहरु नपाउँदा समस्यामा थिए । तर नगरपालिकाले कृषकहरुका लागि गाउँगाउँमा नै लगेर आवश्यक कृषि सामग्री प्रदान गर्न लागेको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिनुभयो ।
बाह्रबिसे नगरपालिकाले यस अघि नै सर्वदलीय बैठकबाट निर्णय गराएर खाद्यनलगायत कृषि सामग्रीहरुको सुपथ मुल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सर्वदलीय बैठकको निर्णय अनुसार स्थानीय हाम्रो नमुना कृषि सहकारी संस्था र राम्चे सहकारी संस्थासँग समन्वय गरेर कृषि सामग्री र खाद्ध्यान्नको सुपथ मुल्य सञ्चालन गर्न लागेको मेयर शेर्पाले जानकारी दिनुभयो ।
उहाँले मललगायत अन्य आवश्यक कृषि सामग्री प्रत्येक वडामा लगेर नगरपालिकाले नै वितरण गर्ने मेयर बताउनुभयो ।
बजारमा अहिले युरिया मलको प्रतिबोरा एक हजार ६ सय रुपियाँ रहेछ तर हामी कृषकहरुलाई प्रतिबोरा एक हजारमा नै गाउँमा नै लगेर प्रदान गर्छौ, शेर्पाले भन्नुभयो ।
लकडाउनमा कृषकहरुलाई सहजहोस् भन्ने उद्देश्यले कृषि सामग्री सुपथ मुल्यमा प्रदान गर्न लागेको उहाँको भनाइ थियो ।







प्रतिक्रिया राख्नुहोस्