सुदूरपश्चिमका इँटा व्यवसायी उच्च लागतमा उत्पादन, कम मूल्यमा बिक्री गर्न बाध्य
कञ्चनपुर । सुदूरपश्चिमका इँटा व्यवसायीहरूले उच्च लागतमा इँटा उत्पादन गर्दा पनि कम मूल्यमा बिक्री गर्न बाध्य भएको गुनासो गर्नु भएको छ ।

सीमा क्षेत्रका जग्गा धनी पुर्जा धितो राखेर ऋण सुविधा नपाइनु, श्रमिक अभाव, उच्च कर, चन्दा आतङ्क, बिमा सुविधा नहुनु र नीतिगत अवरोधले थप समस्यामा पारेको इँटा व्यवसायीहरूको गुनासो छ । व्यवसायीहरूका अनुसार भारतीय सीमा नजिकका जमिनमा बैङ्कले ऋण दिँदैनन्, बर्सातले कच्चा इँटा गलेर नोक्सान हुन्छ, भारतीय श्रमिकलाई अग्रिम किस्ता बुझाउनुपर्ने हुन्छ, स्वदेशी श्रमिक पाइँदैनन्, लागत खर्च बढ्दो छ, तर बजारमा उचित दरभाउ पाउन सकिँदैन । यसै गरी ठाउँ ठाउँमा तिर्नुपर्ने कर र विभिन्न समूहबाट चन्दा असुली हुने गरेको छ, जसले उद्योगीहरूलाई निरुत्साहित बनाएको छ ।
सोमबार कञ्चनपुरको पुनर्वास उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजित नेपाल इँटा उद्योग महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन तथा साधारण सभामा व्यवसायीहरूले यी समस्याहरू समाधानको माग राख्नु भएको छ । महाकाली इँटा व्यवसायी सङ्घका अध्यक्ष कृष्ण बहादुर तामाङले समस्याहरूको व्यावहारिक समाधानका लागि सरकारसँग आग्रह गर्नुभयो । केन्द्रीय सदस्य दीपेन्द्र ऐरले कानुनी झन्झट र बिमा सुविधाको अभावलाई प्रमुख चुनौतीका रूपमा चित्रण गर्नुभयो ।
प्रदेश समिति अध्यक्ष बलदेव सिंह बुडालले माघदेखि मात्र इँटा उद्योगमा आगो लगाउन पाउने सरकारको परिपत्र रहेको स्मरण गराउनु भयो । उहाँले उद्योग सञ्चालनमा देखिएका समस्याहरू समाधान गर्न नसक्दा युवा पुस्ता पलायन हुन बाध्य भइरहेको बताउनु भयो । त्यस्तै, केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रजापतिले महासङ्घले विगतमा केही समस्या समाधान गरे पनि पनि अझै धेरै चुनौती बाँकी रहेको स्मरण गराउनु भयो । पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले कानुनअनुसार काम गर्नुपर्ने सर्तसहित नगर स्तरबाट सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाउनु भयो । अधिवेशनले सुदूरपश्चिमका इँटा व्यवसायीका समस्यालाई राष्ट्रिय मुद्दा बनाएर अघि बढाउने निष्कर्ष निकालेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्