“सूचनाको हकको कार्यान्वयले मुलुकमा सुशासन र समृद्धि आउँछ”
जनकपुरधाम। मधेस प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले मुलुकमा सुशासन तथा समृद्धिको यात्रा पुरा गर्नका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताउनुभएको छ ।

सञ्चारमन्त्री लेखीले मन्त्रालयद्वारा १९औँ सूचना दिवसको अवसर पारेर आज महोत्तरीको बर्दिबासमा आयोजना गरिएको सूचनाको हक कार्यान्वयनको अवस्था सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।
उहाँले वर्तमान संविधानले सूचनाको हकलाई जनताको मौलिक हकको रूपमा अङ्गीकार गरेकाले यसको कार्यान्वयनमा राजनीति नेतृत्व, राष्ट्र सेवक कर्मचारी तथा सुरक्षा निकाय गम्भीर र जबाफदेही बन्न जरुरी रहेको बताउनुभयो ।

उहाँले सूचनाको हकको कार्यान्वयनले लोकतन्त्र तथा गणतन्त्र बलियो हुने भएकाले सूचनाको हकका विषयमा आम जनता समक्ष प्रचार प्रसार हुन जरुरी रहेको बताउँदै यसका लागि सञ्चार माध्यम बढी जिम्मेवार बन्न जरुरी रहेको बताउनुभयो ।
गृहमन्त्री लेखीले सभ्य तथा पारदर्शी समाजको निर्माणका लागि सूचनाको हक हरेकले कार्यान्वयन गर्न जरुरी रहेको बताउँदै यसका कार्यान्वयन गर्नका लागि आम सञ्चार जगतको ठुलो भूमिका रहेको बताउनुभयो ।
आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जीतेन्द्र खड्गाले सूचनाको हक कार्यान्वयनका लागि प्रदेश सरकारका निकायहरू बढी संवेदनशील तथा जबाफदेही बन्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा मधेस प्रदेशका मिडिया काउन्सीलका कार्यवाहक अध्यक्ष सुरेश यादव, सूचनाको हकका अभियन्ता अजय साह तथा मन्त्रालयका उपसचिव ओम प्रकाश महतोले सूचनाको हक सम्बन्धी कानुन तथा यसको कार्यान्वयनको अवस्था र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सूचनाको हक सम्बन्धी राष्ट्रिय दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले मुलुकमा सुशासन, पारदर्शिता तथा जवाफ देहीताका लागि सूचनाको हकको कार्यान्वयनमा सबै पक्ष जिम्मेवार बन्न जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्