मौसम तथा विपद् सञ्चार तालिम कार्यशाला सुरु
विराटनगर । सार्वजनिक सेवा प्रसारण नेपालको प्रदेशस्तरीय समाचार तथा कार्यक्रम उत्पादक र प्रस्तुतकर्ताका लागि मौसम तथा विपद् सञ्चार तालिम कार्यशाला आइतबारदेखि सुनसरीको इटहरीमा सुरु भएको छ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले विपद् न्यूनीकरण र व्यवस्थापनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयाे। उहाँले बाढी, पहिरो, आगलागी तथा सडक दुर्घटनाबाट नेपालले हरेक वर्ष ठूलो क्षति व्यहोर्दै आएको उल्लेख गर्नुहुँदै यस्ता विपद् सम्बन्धी जनचेतनामूलक कार्यक्रम नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत प्रभावकारी रूपमा प्रसारण गर्नुपर्नेमा जोड दिनुभयाे। मन्त्री भण्डारीका अनुसार कोशी प्रदेश सरकारले विपद् जोखिम क्षेत्रको पहिचान र नक्सांकनको काम गरिरहेको छ।
सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र रोकथामका विषयमा विश्वसनीय र प्रभावकारी कार्यक्रम उत्पादन आवश्यक रहेको बताउनुभयाे। उहाँले विपद् अवधिमा गलत समाचारले जनतामा थप पीडा पुर्याउन सक्ने भएकाले सत्यतथ्य बुझेर मात्र प्रसारण गर्नुपर्नेमा जोड दिनुभयाे।
दुई दिनसम्म चल्ने तालिममा नेपाल टेलिभिजन र रेडियो नेपालका कोशी तथा मधेश प्रदेशका विभिन्न प्रसारण केन्द्रका प्रमुख, समाचार तथा कार्यक्रम उत्पादक र प्रस्तुतकर्ताहरूको सहभागिता छ।
प्रतिक्रिया राख्नुहोस्