दुर्घटनामा परी कार्यपालिका सदस्यसहित दुई जनाको मृत्यु
सर्लाही । सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा परी नगर कार्यपालिका सदस्य सहित दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बलरा नगरपालिका–११, छतौना बस्ने ५५ वर्षीय चन्दादेवी बैठा रहेकी छन् भने धनकौल गाउँपालिका ३ हरकठ्वा बस्ने निसार शेखको छोरा १३ वर्षीय फैजान शेख रहेका छन् ।

सर्लाहीको बलरा नगरपालिका–११, छतौनामा शुक्रवार बीआर ३० के ४६९४ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा बलरा नगरपालिकाको कार्यपालिका सदस्य समेत रहेकी बैठाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक बलरा नगरपालिका–११, कै ३५ वर्षीय जितेन्द्र ठाकुर गम्भीर घाइते भएका छन् । गम्भीर घाइते ठाकुरलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात् वीरगन्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी बालिस्टर सिंहले जानकारी दिनुभयो ।
यस्तै बिहीबार साँझ बरहथवा नगरपालिका–८ टाँडी स्थित भित्री सडक खण्डमा बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको ग १ ख ९५६८ नम्बरको कायाकल्प एकेडेमीको बसबाट लडेर फैजान शेखको मृत्यु भएको छ । गुडिरहेको स्कुल बसको ढोकामा उभिइरहेका शेख लडेर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको हो।
स्कुल बस र चालक बागमती नगरपालिका–१० का २१ वर्षीय राज कुमार यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्