तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतको ओखलढुङ्गामा राउटे समुदायद्वारा वृक्षारोपण

सुर्खेत । पूर्वी सुर्खेतको लेकवेशी नगरपालिका–९ स्थित ओखलढुङ्गाको डाँडामा लोपोन्मुख राउटे समुदायको सहभागितामा वृक्षारोपण गरिएको छ।

खाँडदेवी सामुदायिक वन क्षेत्रअन्तर्गतको ओखलढुङ्गा चौरमा आइतबार आयोजित कार्यक्रममा राउटे समुदायले विभिन्न जातका ३ सयभन्दा बढी बोटबिरुवा रोपेका हुन्। खयर, सिसौं, चिउरी, हर्रो, बर्रो, अमला लगायत बहुवर्षीय काष्ठ तथा जडीबुटीजन्य बिरुवा रोपिएको डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठले जानकारी दिनुभयो।

खाँडदेवी वन उपभोक्ता समूहको आयोजनामा भएको कार्यक्रम सगरमाथा वृक्षारोपण महाअभियानअन्तर्गत सञ्चालन गरिएको हो। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठले जंगलमै बस्ने राउटे समुदायको सहभागिताले वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेलले हरियाली संरक्षण, तापक्रम नियन्त्रण र जीवनस्तर उकास्न वृक्षारोपण आवश्यक बन्दै गएको बताउनुभयो।

हाल चौरासेमा बस्दै आएका राउटे मुखिया शेरबहादुर शाहीले समयसँगै आफैंलाई चाहिने रुख जंगलमा नपाइन थालेकाले अब वृक्षारोपण आवश्यक भएको उल्लेख गर्नुभयो। उनका अनुसार, राउटे समुदायको जनसंख्या हाल १३५ मात्र रहेको छ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विमला खड्लुक, प्रदेश वन निर्देशनालयका निर्देशक गणेश त्रिपाठी, मन्त्रालयका जैविक विविधता महाशाखा प्रमुख दीपेश केसी, सामुदायिक वन प्रतिनिधि तथा डिभिजन वनका कर्मचारीको उपस्थिति थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button