तपाईँ सुन्दै हुनुहुन्छः

‘मौलिक हक कार्यान्वयनका लागि कानुन निर्माण गर्न मन्त्रालय क्रियाशील छ’

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले संविधानले प्रत्याभूत गरेको मौलिक हकको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न मन्त्रालय क्रियाशील भएर लागेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले साधेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले दलित समुदायको उत्थानका लागि कार्यान्वयनमा रहेका ऐनहरू संशोधन गरी थप प्रभावकारी बनाइएको बताउनुभयो ।

मन्त्री चौरसियाले संविधानले प्रत्याभूत गरेका दलितको हक कार्यान्वयन गर्न भूमिहीन दलितलाई कानुन बमोजिम एक पटक जमिन उपलब्ध गराउने र आवास विहीन दलितलाई आवास व्यवस्था गर्न सरकारले काम गर्दै आएको बताउनुभयो ।

कानुन मन्त्री चौरसियाले न्याय प्रशासनलाई छिटो छरितो, सर्वसुलभ, प्रभावकारी र जनउत्तरदायी बनाउन विभिन्न ऐनमा संशोधन गरी सुधारका प्रयास अगाडी बढाएको पनि बताउनुभयो ।

मन्त्री चौरसियाले न्यायमा जनताको पहुँच बढाउन मन्त्रालयले विभिन्न क्षेत्रमा  साक्षरता र सचेतनाका कार्यक्रमहरू गरिरहेको बताउँदै आम नागरिकमा न्यायको पहुँच वृद्धि गर्नेसम्बन्धी कानुनको विधेयक छिट्टै संसद्मा पेश गर्ने बताउनुभयो ।

सांसद भुवनबहादुर सुनुवारले कानुन मन्त्री अजय कुमार चौरसियालाई प्रश्न सोध्नुभएको थियो ।

राष्ट्रिय सभाको आजको बैठकले पर्यटन विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्ताव प्रस्तुत गर्नुभएको पर्यटन विधेयक, २०८१ लाई सभाको सर्वसम्मतिले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद्को सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनुभयो । 

राष्ट्रिय सभाको अर्को बैठक यही साउन १४ गते बुधवार १ः १५ बजे बस्ने छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button