तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपाका केन्द्रीय सदस्य उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।

रास्वपाको चितवनमा जारी महाधिवेशनमा केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक नामावलीमा ३ सय ८४ जनाको नाम सार्वजनिक गरेको हो ।

रास्वपाका प्रवक्ता मनिष झाले उम्मेदवारको प्रारम्भिक नाम सार्वजनिक भइसकेको र उम्मेदवारमाथि दाबी विरोधका लागि ५ बजेसम्मको लागि समय दिएको बताउनुभयो ।

उहाँले साझ ६ः३० बजेसम्म अन्तिम नामावली सार्वजनिक गरेर ७ः३० बजेबाट मतदान सुरु गरिसक्ने जानकारी दिनुभयो ।

मतदान सुरु भएको ४ घण्टामा मतदान प्रक्रिया सकिने आकलन रहेको र मतदान सकिएको २ घण्टामा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको पनि प्रवक्ता झाले बताउनुभयो ।

रास्वपाको संशोधित विधान अनुसार १ सय ५८ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ । जसमध्ये ९९ जना निर्वाचित हुने छन् भने ५१ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको ।

त्यस्तै, ७ जना प्रदेश सभापतिहरू पदेन सदस्य हुने भएकाले स्वतः केन्द्रीय सदस्य रहनेछन् ।

रास्वपाको चितवनमा जारी महाधिवेशनमा आज बिहान ९ बजेबाट हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन ।

सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नुभएको छ भने केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button