तराई–मधेसमा खानेपानी र सिँचाइका लागि युद्ध स्तरमा काम गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्ध स्तरमा काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आजकै बैठकबाट मधेस प्रदेशलाई प्राकृतिक विपद्ग्रस्त घोषणा गरिएको जानकारी दिँदै सम्पूर्ण शक्ति प्रयोग गरेर खानेपानी र सिँचाइ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“यो सरकार राष्ट्रका सामु देखा परेका चुनौतीहरूको सामना गर्न लागेको छ । स्थिरता र स्थायित्वलाई कायम गरेर अघि बढ्ने हाम्रो सङ्कल्प रहेको छ । अहिले पहाडमा वर्षा र बाढीको प्रभाव छ भने तराई–मधेस सुक्खा समस्याले ग्रस्त छ । यी समस्या समाधानका लागि सरकारले आवश्यक कदमहरू चालेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्राकृतिक विपद्ग्रस्त घोषणापछि तराई–मधेसमा कुनै सामग्री आवश्यक परेमा वा ‘डिपबोरिङ’ गर्नुपरेमा सहज हुनेछ । यसतर्फ सरकार गम्भीर छ । अब अल्पकालीन र दीर्घकालीन उपाय खोजेर समस्या समाधानतर्फ लाग्नुपर्नेछ । यससम्बन्धी गर्नुपर्ने काममा सरकारले कुनै कुसर बाँकी राख्ने छैन ।”
प्रतिक्रिया राख्नुहोस्