तपाईँ सुन्दै हुनुहुन्छः

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

काठमाडौँ । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा जैविक विविधता अनुगमन सुदृढ गर्न ट्रेल क्यामेरा र जिपिएस उपकरण जडान सुरु भएको छ । युनेस्कोको सहयोगमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् (केसिएएमसी) र समृद्ध पहाडबीचको सहकार्यमा उक्त उपकरणहरू जडान सुरु गरिएको हो । युनेस्कोका अनुसार तापेथोक, हेलोक र लेलेप क्षेत्रमा साउन १ देखि ४ गतेसम्म यी प्रविधि जडान गरिनेछ ।

“उपकरण जैविक विविधता अनुगमनलाई थप वैज्ञानिक, भरपर्दो बनाउन प्रयोग गरिनेछ, स्थानीय आदिवासी ज्ञान र आधुनिक प्रविधिबीच समन्वय गर्दै पारिस्थितिकीय अनुगमनलाई दिगो बनाउने उद्देश्यसहित यो अभियान थालिएको हो”, युनेस्कोद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । 

उपकरण जडानअघि, असार २९ र ३० गते लेलेपमा दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको थियो । तालिममा स्थानीयबासी, विद्यालयका विद्यार्थी, आदिवासी जनजाति प्रतिनिधि र सरोकारवालाहरूको उल्लेख्य सहभागिता थियो । तालिममा सहभागीहरूले वैज्ञानिक उपकरणको प्रयोग, सञ्चालन र जडानसम्बन्धी व्यावहारिक सीप आर्जन गरेका थिए । यस्ता गतिविधिले स्थानीय समुदायलाई वातावरण संरक्षणप्रति थप जिम्मेवार र सक्षम बनाउने अपेक्षा गरिएको छ ।

केसिएएमसीका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले संरक्षणका प्रयासबारे जानकारी दिँदै जैविक विविधताको हटस्पट र सम्भावित संरक्षण क्षेत्रहरू पहिचान गर्ने योजनामा आफूहरू जुटेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी युनेस्को बायोस्फियर रिजर्भको मान्यता प्राप्त गर्ने दिशामा अघि बढिरहेका छौँ । त्यसका लागि स्थानीय जनचेतना अभिवृद्धि र वैज्ञानिक आधारमा संरक्षणको सशक्त अभ्यास हाम्रो प्राथमिकता हो ।”

तालिम अवधिमा सहभागीलाई बायोस्फियर रिजर्भको अवधारणा, उद्देश्य, मनोनयन प्रक्रिया र सम्भावित लाभबारे जानकारी दिइएको थियो । बायोस्फियर रिजर्भलाई जीवित प्रयोगशाला मानिन्छ, जहाँ संरक्षण, दिगो विकास र वैज्ञानिक अनुसन्धानलाई सँगसँगै अघि बढाइन्छ । यसले मानव र प्रकृतिबीच सन्तुलित सम्बन्ध निर्माण गर्न मद्दत गर्दछ ।

युनेस्को नेपाल राष्ट्रिय आयोगअन्तर्गत मानव तथा बायोस्फियरसमितिका सदस्य प्राडा हरिप्रसाद अर्यालले स्थानीय ज्ञान र वैज्ञानिक प्रविधिबीचको संयोजनले उच्च हिमाली क्षेत्रका पारिस्थितिक चुनौतीहरू समाधान गर्न मद्दत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले स्थानीय संरक्षकहरूको ज्ञानलाई सम्मानपूर्वक सुन्न, सिक्न र व्यवहारमा उतार्नुपर्छ । उनीहरूको प्रकृतिप्रतिको प्रतिबद्धता संरक्षणको मेरुदण्ड हो ।”

यस अभियानले विश्वव्यापी कुनमिङ–मोन्ट्रियल जैविक विविधता फ्रेमवर्कका उद्देश्यहरूसँग पनि मेल खानेछ । उक्त फ्रेमवर्कले २०५० सम्ममा प्रकृतिसँग सन्तुलनमा आधारित जीवनयापनतर्फ विश्व समुदायलाई अग्रसर गराउने लक्ष्य राखेको छ ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले कञ्चनजङ्घामा सञ्चालन भइरहेका प्रयासहरू केबल प्रकृति संरक्षणका लागि मात्र नभई स्थानीय समुदायको ज्ञान, जीवनशैली र दिगो जीविकोपार्जनमा आधारित रहेको बताउनुभयो । “हाम्रो कार्य र सहकार्य युनेस्कोको समग्र मिसनसँग गहिरो रूपमा मेल खान्छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार यो पहल कुनमिङ जैविक विविधता कोषको आर्थिक सहयोगमा सञ्चालन भइरहेको ‘कञ्चनजङ्घा संरक्षण क्षेत्रमा जैविक विविधता संरक्षणका लागि सामुदायिक संलग्नता सुदृढ गर्ने’ परियोजनाअन्तर्गत हो । परियोजनाले स्थानीय क्षमता अभिवृद्धि, ज्ञान आदानप्रदान र वैज्ञानिक उपकरणहरूसँग व्यावहारिक संलग्नतामार्फत कञ्चनजङ्घाजस्ता जैविक विविधताले भरिपूर्ण क्षेत्रमा सामुदायिक संरक्षण अभ्यासलाई बलियो बनाउने लक्ष्य लिएको छ ।

यो साझा प्रयासले कञ्चनजङ्घा क्षेत्रको अनन्य जैविक विविधता भविष्यका पुस्ताका लागि सुरक्षित गर्ने दिशामा थप बल पु¥याउने विश्वास लिइएको छ । आधुनिक प्रविधि र आदिवासी ज्ञानबीचको शक्तिशाली तालमेलमार्फत यो पहलले समुदाय–नेतृत्वमा आधारित संरक्षणका उत्कृष्ट अभ्यासका लागि नमुना प्रस्तुत गरेको युनेस्कोले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button