तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीको उपद्रो रोक्न बाहुनडाँगीमा कागतीका बिरुवा वितरण

भद्रपुर, झापा । झापामा जङ्गली हात्तीबाट अति प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई हात्तीले क्षति नपुर्‍याउने कागती खेतीमा आकर्षित गर्न थालिएको छ ।

डिभिजन वन कार्यालय झापाले सो क्षेत्रमा कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । 

हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयबासीलाई कागतीका बिरुवा वितरण गरिएको कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताउनुभयो । कागतीबाट आम्दानी पनि राम्रो हुने र हात्तीले पनि नखाने हुँदा हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई कागतीका बिरुवा उपलब्ध गराएको उहाँले बताउनु भयो ।

मेचीनगर नगरपालिका–४ का बासिन्दाका लागि बन कार्यालयबाट प्राप्त कागतीका बिरुवा वडा कार्यालयमार्फत ३०० परिवारलाई वितरण गरिएको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । हात्तीले सुपारीका बोट भाँचेर ठूलो क्षति पुर्‍याउन थालेकाले हाल सुपारी बगानभित्र रोप्नका लागि कागतीका बिरुवा बाँडिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार कागतीको बोट काँडेदार र फल अमिलो हुने भएकाले हात्तीका लागि अरुचिकर हुन्छ । कागती हुर्किएपछि किसानले फल बिक्री गरेर आम्दानी पाउने र हात्ती नियन्त्रण हुने भएकाले बाहुनडाँगीका बासिन्दा कागती रोप्ने अभियानमा लागेका छन् ।

वडा कार्यालयले प्रति परिवार दुईदेखि २५ वटासम्म कागतीको बिरुवा स्थानीयबासीलाई वितरण गरेको छ ।

भारतबाट जङ्गली हात्ती प्रवेश गर्ने पहिलो नाकाको रुपमा बाहुनडाँगी परिचित छ । यहाँ दशकौँदेखि हात्तीसँगको द्वन्द्वका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button