हेलो सरकारप्रति जनताको भरोसा बढ्दै, थप प्रभावकारी बनाउनमा जोड

जनकपुरधाम । जनताको गुनासो तथा सुशासनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय मातहत सञ्चालनमा रहेको हेलो सरकार पोर्टललाई प्रभावकारी बनाउने विषयमा आज जनकपुरधाममा छलफल सम्पन्न भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजना र मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको समन्वयमा आयोजना गरिएको हेलो सरकार पोर्टलको सञ्चालन तथा गुनासो व्यवस्थापन सम्बन्धि प्रदेश स्तरीय छलफल कार्यक्रममा सहभागीहरूले गुनासोको सुनुवाइलाई शीघ्र रुपमा हुनु पर्ने आवश्यकतामा जोड दिनु भएको हो ।
मधेश प्रदेशमा गुनासोको व्यवस्थापन अन्य प्रदेशको तुलनामा निक्कै कमजोर रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद्का कार्यालयका उपसचिव तुलाराम सुनारले जानकारी दिनु भयो । मधेश प्रदेशमा अहिलेसम्म ३३ प्रतिशत गुनासोको सुनुवाई भएको र जून अन्य प्रदेशको तुलनामा निक्कै थोरै रहेको सुनारले जानकारी दिनु भयो ।
मधेश प्रदेश बाहेकका प्रदेशमा न्यूनतम ४४ देखि ८५ प्रतिशतसम्म गुनासोको सुनुवाई भएको जानकारी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले दिएको छ । मधेश प्रदेशमा सबैभन्दा बढी गुनासो मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रहेको छ भने जिल्ला स्तरको कार्यालयमा जिल्ला प्रशासन कार्यालय सम्बन्धि गुनासो हेलो सरकारमा बढी परेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत रहेको हेलो सरकारले उजुरीको सुनुवाइमा देखाएको तत्परताका कारणले उजुरी पर्नेको सङ्ख्या वार्षिक रुपमा नै बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७९।८० मा १० हजार ९ सय २२ वटा, २०८०।८१ मा ११ हजार ९ सय ३२ वटा र २०८१।८२ को हालसम्ममा १४ हजार ६ सय ४८ वटा गुनासो हेलो सरकारमा परेको छ ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेलले हेलो सरकारमा परेको गुनासो मध्ये सबै भन्दा कम मधेश प्रदेशमा फर्छ्यौट भएको विषय प्रति आफू गम्भीर भएको बताउँदै सुशासनका लागि गुनासोको सुनुवाई तदारुकताका देखाउन जरुरी रहेको बताउनु भयो ।
उहाँले विगत केही वर्ष यता हेलो सरकार प्रति जनताको भरोसा तथा विश्वास बढ्न थालेका कारणले उजुरी पर्ने क्रममा वृद्धि भएको बताउनु भयो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयका सचिव गोविन्द बहादुर कार्कीले मुलुकमा सुशासन तथा सेवा प्रवाहमा हुने गरेको कमी कमजोरीको समाधान गर्नका लागि हेलो सरकारमा परेको गुनासोको आधारमा सोको समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सरोकारवाला निकायमा पत्राचार गर्ने गरेकाले समयमा सुनवाई गरिदिनका लागि आग्रह गर्नु भयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले गुनासो बढी हुनुले जनतामा सरकार प्रतिको असन्तुष्टि बढ्नु रहेकाले गुनासो आउन नदिने गरि सेवा प्रवाहमा ध्यान दिनका लागि कार्यालय प्रमुख तथा गुनासो सुन्ने अधिकारीहरुसंग आग्रह गर्नु भयो । कार्यक्रममा प्रधानमन्त्री कार्यालयका कम्प्युटर इन्जिनियर प्रदीप गौतम र मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव जय कुमार राउत सहितले विभिन्न विषयमा जानकारी दिनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्