तत्काल स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्था गर्न सरकारलाई निर्देशन
यशोदा अधिकारी । भिडियो कन्फरेनसमार्फत् बसेको प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले कोरोना भाइरस संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतलाई तत्काल स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले विश्वरभर फैलिएको कोरोना भाइरसको महामारी रोक्न तत्कालै भेन्टीलेटर, पिपीइ, मास्क लगायतका स्वास्थ्य सामाग्री यथाशक्य चाँडो खरिद गरी वितरण गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
समितिले क्वारेन्टाइन र आइसुलेशनमा बस्नेलाई निशुल्क खाने, बस्ने र उपचारको व्यवस्था गर्न र कोरोनाको त्रासमा परेकाहरुलाई मनोपरामर्शको व्यवस्था थर्न पनि सरकारलाई सुझाव दिएको छ ।
बैठकमा समितिका सदस्य सांसदहरुले कोरोना भाइरसको परीक्षण तीव्र रुपमा अगाडि बढाउनुपर्ने, लकडाउनका बेला समस्यामा परेकालाई सहज रुपमा राहत वितरण गरिनुपर्ने र कोरोना बाहेकका बिरामीलाई पनि उपचारको व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए ।
बैठकपछि समितिका सभापति घर्तीले कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएकाले संक्रमण थप फैलन नदिन भिडियो कन्फरेन्समार्फत् समितिका सदस्यहरुबीच निरन्तर छलफल भइरहने रेडियो नेपाललाई बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्