तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज महानगरको बजेट ३ अर्ब २२ करोड

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको आज सम्पन्न १७ औँ नगर सभाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजारको बजेट सार्वजनिक गरेको छ । 

आज सम्पन्न १७ औँ नगर सभामार्फत सार्वजनिक भएको बजेट चालु आर्थिक वर्षभन्दा बढी रहेको छ । 

आर्थिक वर्ष २०८१÷०८२ मा बीरगंज महानगरले संशोधित सहित २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँको बजेट पारित गरेको थियो । 

आज एक कार्यक्रमका बिच बजेट सार्वजनिक गर्दै बीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८२÷०८३ मा कुल विनियोजित बजेट मध्ये चालु खर्चतर्फ २ अर्ब २६ करोड ५० लाख, अर्थात् ७० दशमलव २४ प्रतिशत, पूँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात् २८ दशमलब ६४ प्रतिशत, वित्तीय व्यवस्थापन तर्फ ३ करोड ६४ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । 

विनियोजित बजेट मध्ये आन्तरिक राजश्वबाट १ अर्ब १५ करोड, सङ्घीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ३७ करोड ३० लाख, सङ्घीय राजश्व बाँडफाँडबाट २३ करोड ७८ लाख, मधेस अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड ६७ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्क बापत २५ करोड र नगद मौज्दात बाट १५ करोड बेहोरिने जनाइएको छ । 

यस अघि आजै बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले ९० बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वीरगन्जमा आगामी आर्थिक वर्षमा ‘अलौ पर्व सङ्ग्रहालय’ निर्माण गरी वीरगञ्जको ऐतिहासिक घटनालाई भावी पुस्तामाझ पुर्‍याउने, घण्टाघर नजिकै खाली सार्वजनिक जग्गामा सुव्यवस्थित ‘विपी उद्यान’ निर्माण गरिने, नेपालको पहिलो रेल सेवाको १०० वर्ष पुगेको अवसरमा ‘रेल्वे म्युजियम’ स्थापना गरिने, भिष्वा डाँडालाई ‘प्राकृतिक तथा सांस्कृतिक गन्तव्य’ को रूपमा विकास गरिने, नेपालकै एकमात्र नृर्सिङ्ग मन्दिर र चिनीमिल पिपरामा रहेको ऐतिहासिक पशुपतिनाथ मन्दिरको पुनर्निर्माण तथा व्यवस्थितीकरण गरिने, अन्तर्राष्ट्रिय भोजपुरी सम्मेलन आयोजना गरी भोजपुरी भाषा र संस्कृतिको प्रवद्र्धन गरिने लगायतका नयाँ कार्यक्रम घोषणा गर्नुभएको छ ।

नगरसभामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरु र कर्मचारीहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button