तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचारको आरोपमा पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र नासु पक्राउ

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पर्साको पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीबास्तव र नायब सुब्बा सन्दिप साहलाई पक्राउ गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पर्सा जिल्ला पोखरीया नगरपालिकामा कार्यरत कर्मचारीहरूले विभिन्न योजनाहरूको स्वीकृति एवं कर्मचारी नियुक्ति लगायतका विषयहरूमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा पोखरीया नगरपालिका, पर्साका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा  हाल बहुदरमाई नगरपालिका, पर्साका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र पोखरीया नगरपालिकाका नायब सुब्बा सन्दीप साहलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताउनुभयो । 

अख्तियारको टोलीले उनीहरूको साथबाट ४ थान मोबाइल समेत नियन्त्रणमा लिएको छ । 

श्रीबास्तबलाई आज बिहान वीरगंज महानगरपालिका वडा नम्बर १७ प्रतिमा चोक र  साहलाई वीरगंजकै वडा नं. ३ प्रगतिनगरस्थित निवासबाट अख्तियारको टोलीले आज नियन्त्रणमा लिएको जनाइएको छ ।

साथै अख्तियारको टोली अनियमितता छानबिनका लागि पोखरीया र बहुदरमाई नगरपालिकामा पुगेको र पोखरीयाबाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बिनय कुमार सिंह र सोही नगरपालिका वडा नम्बर २ का सचिव ओम प्रकाश चौरसियाको साथमा रहेको दुई थान मोबाइल समेत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थपलियाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button