गर्मी नघटेपछि वीरगन्जका विद्यालय असार ६ सम्म बन्द
वीरगञ्ज । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू थप ६ दिन बन्द गर्ने घोषणा गरेको छ ।
तराई–मधेसमा केही दिन यता गर्मी अत्यधिक बढेर जनजीवन नै अस्तव्यस्त बनेपछि वीरगन्ज महानगरपालिकाका विद्यालयहरूमा थप एक हप्ताको बिदा दिएको हो ।

महानगरपालिकाले सामुदायिक तथा सार्वजनिक विद्यालयहरूमा असार १ देखि ६ गतेसम्मका लागि गर्मी बिदा थप गरेको हो । यसअघि महानगरपालिकाले विद्यालयहरूमा जेठ २९ र ३० गते दुई दिनमात्रै गर्मी बिदा दिएको थियो ।
तर गर्मी कम हुनुको सट्टा झन् बढ्दै गएपछि महानगर क्षेत्रका विद्यालयहरूमा असार १ देखि ६ गतेसम्मका लागि बन्द गरेको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सूचनामा केही दिन देखि बढेको अत्यधिक गर्मीका कारणबाट विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने अवस्था देखिएकाले असार १ गतेदेखि असार ६ गतेसम्म ६ दिन वर्षे बिदा मिलान हुने गरी सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको उल्लेख छ ।
गर्मी अत्यधिक बढेर विद्यार्थीहरू कक्षाकोठामै मुर्छित हुने अवस्था आएको भन्दै यहाँका अभिभावकहरूले विद्यालयहरूमा बिदा दिनुपर्ने माग गरेका थिए ।
पर्सा, बारा लगायत मध्य तराईका जिल्लाहरूमा अहिले गर्मी अत्यधिक बढिरहेको छ । यस क्षेत्रमा केही दिन यता तापक्रम बढेर अधिकतम ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्