तपाईँ सुन्दै हुनुहुन्छः

विकट ईचोकमा भिडियो एक्सरेसहितको बर्थिङ सेन्टर

मेलम्ची । हेलम्बु गाउँपालिकाको विकट गाउँमा ईचोकमा सुविधा सम्पन्न बर्थिङ सेन्टरले महिलाहरु खुशी छन् । हेलम्बु ७ ईचोकमा भिडियो एक्सरेसहितको बर्थिङ सेन्टरबाट सेवा पाएपछि महिलाहरु खुशी भएका हुन् ।

गाउँमै विषेश सुविधा पाएपछि हेलम्बुको ईचोक बर्थिङ सेन्टरमा सुत्केरी गराउनेको संख्या ह्वातै बढेको छ । भिडियो एक्सरे, २४ सै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था र गाउँपालिकाको विशेष आर्थिक सहयोग, एम्बुलेन्स सुविधालगायतको व्यवस्थाले ग्रामीण महिला सुत्केरी गराउन बर्थिङ सेन्टरमा आउन थालेका हुन् ।

हेलम्बु गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार गाउँपालिकामा दुई वटा बर्थिङ सेन्टर छ । दुई वर्षअघि पाँच जना मात्र बर्थिङ सेन्टरमा सुत्केरी हुन आएका थिए । हाल चालू वर्षको नौ महिनामा झन्डै एक सयभन्दा बढी बर्थिङ सेन्टरमा सुत्केरी हुन आएको पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

पालिकाले सुत्केरी हुन बर्थिङ सेन्टरमा आउने महिलालाई एम्बुलेन्स घरमा नै लिन पठाउने र सुत्केरी भएपछि घरमा नै पुर्याउने गरेको छ । सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्था आउने महिलालाई सरकारले प्रोत्साहन स्वरुप तीन हजार दिने गरेको छ ।

उक्त तीन हजारमा पालिकाले तीन हजार थप दिएर सुत्केरी हुन आउने महिलालाई थप प्रोत्साहन दिएको पालिकाका स्वास्थ्य प्रमुख ज्ञानेन्द्र सिग्देलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button