काठमाडौँमा हिन्दकुश हिमालय सम्मेलन हुने
काठमाडौँ । जलवायु परिवर्तन र वातावरण प्रदूषण लगायतका साझा मुद्दामा एकजुट भएर अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत हुने उद्देश्यले आगामी साउन दुई र तीन गते नेपालमा हिन्दकुश हिमालयन सम्मेलन आयोजना गरिने भएको छ ।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकले हिन्दकुश हिमालय क्षेत्रभित्रका आठ राष्ट्रका सांसदहरूको सहभागिता रहने गरी सम्मेलन आयोजना गरिने प्रस्ताव पारित गरेको हो ।
इसिमोडसँगको सहकार्यमा आयोजना गरिने सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने समितिका सभापति कुसुमदेवी थापाले जानकारी दिनुभयो ।
बैठकमा सांसदहरु वीरबहादुर बलायर, विजुला रायमाझी, विनीता कठायत लगायतले सम्मेलन हिमाली क्षेत्रमै गरिनुपर्ने, जलवायु परिवर्तनका कारण कृषि, स्वास्थ्यलगायत मानव जीवनमा आइपरेका समस्याबारे विस्तृत छलफल हुनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा नेपाल, भुटान लगायत हिन्दकुश क्षेत्रमा पर्ने राष्ट्रको जलवायु परिवर्तनमा कुनै भूमिका नभए पनि त्यसको असरको सामना गर्नुपरेकाले क्षतिपूर्तिका लागि साझा धारणा बनाइने इसिमोडका प्रतिनिधि आभास पाण्डेले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्