हुम्ला कर्णालीको ८ औँ साक्षर जिल्ला घोषणा
सुर्खेत । ‘साक्षरता हाम्रो गौरव, साक्षर जिल्ला हाम्रो उपलब्धि’ भन्ने नाराका साथ नेपालको ६७ औँ र कर्णाली प्रदेशको ८ औँ साक्षर हुम्ला जिल्ला घोषणा भएको छ ।

२०७६ राष्ट्रिय मापदण्डअनुसार देशको ६७ औँ साक्षर जिल्ला हुम्ला घोषणा गरिएको हो । १५ देखि ६० उमेरका नागरिकहरूको साक्षरता ९७ दशमलव ०४ प्रतिशत मापदण्ड पूरा भएपछि देशको ६७ औँ र कर्णाली प्रदेशको ८ औँ जिल्ला हुम्ला घोषणा भएको शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका कार्यालय प्रमुख योगेश आलेमगरले जानकारी दिनुभयो ।
जिल्लाका सात वटै गाउँपालिका साक्षर गाउँपालिका घोषणा भएसँगै हुम्ला पनि साक्षर जिल्ला घोषणा भएको प्रमुख आलेमगरले बताउनुभयो । १५ वर्षमाथि जिल्लाको ३५ हजार ३ सय ५४ मध्ये ३३ हजार ९ सय ५४ जनसङ्ख्या साक्षर भएको उहाँको भनाई छ ।
यद्यपि ! जिल्लामा अझै १ हजार ४ सय नागरिक निरक्षर रहेका छन् । कर्णालीमा हुम्लासहित ८ वटा जिल्ला साक्षर जिल्ला घोषणा भइसकेका छन् । अब प्रदेशमा कालिकोट, र डोल्पा साक्षर जिल्ला घोषणा हुन बाँकी छन् ।
प्रतिक्रिया राख्नुहोस्