काँग्रेसले आफूले गरेका कामको प्रचार गर्न सकेन : प्रवक्ता महत
कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता प्रकाशशरण महतले सरकारमा रहँदा गरेका कामको प्रचारप्रसार गर्न नसक्दा कांग्रेस पछि परेको बताउनुभएको छ ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ कास्कीको दोस्रो क्षेत्रीय सम्मेलनको पोखरामा आज उद्घाटन गर्दै उहाँले विसं २०४८ यता स्वास्थ्य, शिक्षा, सञ्चार, सडक, पुल र विद्युत् जस्ता विकास निर्माणले तीव्रता पाए पनि त्यस्ता कार्यको प्रचारप्रसार गर्न नसक्दा कांग्रेस पछि परेको बताउनुभएको हो ।
व्यक्तिगत गालीगलौज र प्रतिस्पर्धाभन्दा कांग्रेस सरकारमा हुँदा गरेका कामको सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार र पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्न सकेमा काँग्रेसलाई कसैले पराजय गर्न नसक्ने भनाइ उहाँको छ । सङ्गठन निर्माण र आफूले गरेका कामको बिक्री गर्न नसक्दा काँग्रेसको प्रगति जुन रुपमा हुनुपर्ने थियो, त्यसरी हुन नसकेको निष्कर्ष उहाँको छ ।
सत्तामा रहँदा मात्र जनताका काम गर्न सकिने भएकाले कांग्रेस गठबन्धनको सरकारमा संलग्न भएको उहाँले बताउनुभयो । मिश्रित निर्वाचन प्रणाली भएसम्म कुनै पार्टीको बहुमत आउन नसक्ने धारणा उहाँको छ । राष्ट्र बैङ्कको गभर्नरमा सक्षम व्यक्ति ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य शारदा पौडेलले नेपाली जनताका चाहना पूरा गर्न कांग्रेस सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ आउने पार्टीले नेपाली जनतालाई सेवा गर्न नसक्ने बताउनुभयो । सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल, पूर्वमन्त्री यज्ञबहादुर थापा, मेखलाल श्रेष्ठ, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायतले आफ्ना भनाइ राख्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्