तपाईँ सुन्दै हुनुहुन्छः

‘मुलुक विकासशील राष्ट्रमा स्तारोन्नती हुँदाको तयारी तीव्र’

यशोदा अधिकारी काठमाडौँ । सरकारले नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुुलुुकमा स्तरोन्नति भएपछि आइपर्ने चुनौती सामना गर्न यथेष्ट तयारी गरेको जनाएको छ । 

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रमा लगानी र कृषि उत्पादनमा वृद्धि गर्न सरकारले विशेष योजनासहित काम गरिरहेको जानकारी दिनुभयो । 

नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सार्वजनिक निकायहरूमा नेपाली उत्पादन अनिवार्य गर्दै कृषिमा उत्पादन बढाउन किसानहरूलाई विशेष सेवा दिने गरी सरकारले योजना बनाइरहेको मन्त्री भण्डारीले बताउनुभयो । 

मन्त्री भण्डारीले अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने सन्दर्भमा वैदेशिक सहायता कटौती हुने हुँदा आइपर्ने समस्या पूर्ति गर्न सरकारले उद्योग कलकारखानामा स्वदेशी तथा विदेशी लगानीका लागि ऐन कानून नै संशोधन गरेर लगानीमैत्री वातावरण बनाएको बताउनुभयो । 

सरकारले छिमेकी मुलुक भारत, चिन, अमेरिका, कोरिया लगायतका मुलुकमा नेपाली उत्पादन नियमित निर्यात गर्न ती देशहरूसँग छलफल भएको बताउँदै मन्त्री भण्डारीले आयत निर्यातको सन्तुलन कायम गर्न आपूर्ति नीति परिमार्जन गरिएको जानकारी दिनुभयो ।

बैठकमा सांसदहरु बामदेव गौतम, झक्कुप्रसाद सुवेदी, तारादेवी भट्ट लगायतले  विभिन्न क्षेत्रमा वैदेशिक सहायता कटौतीले मुलुकको अर्थतन्त्रमा समेत असर गर्ने हुँदा नेपाल विकशील राष्ट्रमा स्तरोन्नति भएपछिको अर्थतन्त्रलाई अझ चलायमान गर्ने गरी योजना बनाउन सरकारलाई सुझाव दिनुभयो । 

सांसदहरुले नेपाली बजारलाई व्यवस्थित गर्नुपर्ने, नेपाली उत्पादनको वृद्धि र प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने र अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको बजार विस्तार गरिनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button